Prakash Adhikari December 12, 2019

काठमाडौं, २६ मंसिर । लोकतन्त्रवादी पत्रकारहरूको साझा संगठनको रुपमा रहदै आएको नेपाल प्रेस युनियनको यही मंसिर २८ र २९ गते निर्धारित नवौं महाधिवेशन संघारमा आएर स्थगित भएको छ ।

युनियनका अध्यक्ष बद्री सिग्देलले बिहिबार एक विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, ‘यही मंसिर २८ र २९ गतेका लागि निर्धारित नवौं महाधिवेशन तोकिएको सीमाभित्रै सम्पन्न गर्न राष्ट्रिय र अत्यन्तै महत्वपूर्ण सवालका कारणले असमर्थ देखिएको छ ।’

उहाँले आफू कार्यवाहक अध्यक्ष भएकै अवस्थामा नेपाल प्रेस युनियनको आठौं महाधिवेशन पोखरामा भव्य रुपमा सम्पन्न भएको स्मरण गर्दै विविध उतारचढावका बीच नवौं महाधिवेशन सम्पन्न गराउन हामी प्रयत्नशील रहेको उल्लेख गर्दै र केन्द्रीय समितिको अविलम्ब बैठक बोलाई महाधिवेशनको मिति तय गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

अध्यक्ष सिग्देलले महाधिवेशन हुन नसक्नुका कारणहरुको चर्चा गर्दै नेपाली कांग्रेसको नेतृत्वमा नेपालको संविधान कार्यान्वयनका लागि तीन तहका निर्वाचन सम्पन्न गर्ने सन्दर्भमा प्रेस युनियन पनि लोकतन्त्रको पक्षमा माहोल बनाउन सक्रिय रहनुुपरेको, नेपाल पत्रकार महासंघमा लोकतन्त्रवादी पत्रकारहरूको बलियो उपस्थितिका लागि पनि युनियनका साथीहरू होमिनु परेको, महाधिवेशनकै तयारीमा जुटिरहेका बेला गत मंसिरमा सोही मितिमा नेपाली काँग्रेसको महासमिति बैठक पर्न गएको, त्यसलगत्तै पार्टीले विभिन्न चरणका राष्ट्रिय जागरण अभियान सञ्चालन गरेको, पार्टी उपनिर्वाचनमा होमिनु परेकोलगायत परिस्थितिले महाधिवेशन गर्न असमर्थ भएको उल्लेख गर्नुभएको छ ।

करिब एक दर्जन जिल्ला र प्रतिष्ठान शाखाको अधिवेशन अझै पनि हुन नसकेको र केही जिल्लामा सहमति हुन बाँकी रहेकोले ती अधिवेशन सम्पन्न गरी नयाँ मितिमा महाधिवेशन गरिने उहाँले स्पष्ट पार्नुभएको छ ।

अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे)को सदस्यता प्राप्त गर्ने नेपालको पहिलो संस्था रहेको युनियन श्रमजीवी पत्रकार एवं सञ्चागृहमा कार्यरत सम्पूर्ण कर्मचारीको आधिकारीक ट्रेड यूनियन हो । स्थापनाको २८ वर्षसम्म श्रमजीवी पत्रकारको हकहितका साथै लोकतान्त्रिक आन्दोलन, मानवाधिकार, कानुनी शासन र नागरिकको सूचनाको हक संस्थागत गर्न क्रियाशील रहदै आएको छ ।

अध्यक्ष सिग्देलले समयमै महाधिवेशन सम्पन्न गर्न नसकिएकोमा केन्द्रीय समितिको तर्फबाट क्षमायाचना समेत गर्नुभएको छ ।

Share Now

Leave a comment.