जनकपुरधाम(धनुषा), २८ मंसिर । धनुषाको छिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बजार नजिक भएको बम विष्फोटमा परी ज्यान गुमाउनेको संख्या ३ पुगेको छ ।
सो विष्फोटमा घायल हुनुभएका प्रहरी निरीक्षक अमिरकुमार दाहालको अस्पतालमा उपचारका क्रममा शनिवार मृत्यु भएको छ ।
गए राति महेन्द्रनगरको कुचाइ टोलमा राजेश साहको घरबाहिर पोलमा राखिएको बम विष्फोट हुँदा राजेश र उनको छोरा आनन्दको घटनास्थलमै मृत्यु भएको थियो ।
शंकास्पद वस्तु रहेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक अमिरकुमार दाहाल नेतृत्वको टोली डिस्पोज गर्न खटिएको थियो ।
त्यहाँ जम्मा भएको भिडभाड हटाउँदै गर्दा बम विष्फोट भएको थियो । बम विष्फोटमा दाहालको कोखामा छर्रा लागेको थियो । उहाँ पूर्व प्रधानमन्त्री झलनाथ खनालको व्यक्तिगत सुरक्षा अधिकारी पनि रहनुभएको थियो ।
घटनामा घाइते भएका राजेश साहकी छोरी अञ्जली, छोरा प्रकाश र प्रहरी जवान रिजनाथ कुमार महतोको उपचार जारी छ ।


















