सानेपा(ललितपुर), १५ पौष । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नागरिकहरुको स्वतन्त्र र स्वस्फूर्त अभिव्यक्तिको माध्यम बन्दै आएका सामाजिक सञ्जालका विविध माध्यमलाई रोक्ने नियतले सरकारले संसदीय समितिबाट पारित गरेको सूचना प्रविधि विधेयकको विरोध गरेको छ ।
मंगलबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा एक पत्रकार सम्मेलनको आयोजना गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सो विधेयकले सरकार अधिनायकवादकोे मार्गमा दुई कदम अघि बढेको पुष्टी भएको बताउनुभयो ।
उहाँले नेपाल विशेष सेवा गठन र संचालनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमार्फत् सरकारले नागरिकको ‘फोन ट्यापीङ’ समेत गर्न सक्ने अधिकार लिन चाहेर संविधान प्रदत्त व्यक्तिगत गोपनियताको अधिकार समेत हनन गर्ने दुस्साहस गरको आरोप पनि लगाउनुभयो ।
सामाजिक सञ्जालमा लेखिएका विषयलाई जिस्क्याएको अर्थ लगाएर ५ वर्ष जेल बस्नुपर्ने, १५ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने अवस्था सिर्जना गर्न खोजेर शासक वा शक्तिकेन्द्रहरुको विरोधमा स्वःस्फूर्त रुपमा आएका सत्य र तथ्यगत सूचनाहरुलाई रोक्न खोजिएको आरोप लगाउदै उहाँले यस्ता प्रावधान लोकतान्त्रिक राज्य व्यवस्थाको भावना र मर्म अनुरुप हुन नसक्ने स्पष्ट पार्नुभयो ।
उहाँले सामाजिक संञ्जालको प्रयोगलाई समाजोपयोगी बनाउने उपायका बारेमा छलफल गर्न छोडेर कठोर प्रावधान राख्दै राजनीतिकर्मी या सरकारप्रति स्वस्थ्य आलोचना गर्ने नागरिक स्वतन्त्रतालाई कुण्ठीत गर्ने विधेयकलाई समर्थन गर्न नसकिने स्पष्ट पार्नुभएको छ ।
प्रवक्ता शर्माले फेसवुक, ट्वीटर र इन्स्टाग्राम जस्ता लोकप्रिय माध्यम दर्ता हुन नआएमा बन्द गर्न सकिने अवस्था सिर्जना गरेर नागरिकको अभिव्यक्ति स्वतन्त्रता संकुचित गर्न खोजेको पनि आरोप लगाउनुभएको छ ।
उहाँले कम्युनिष्ट पार्टीको वर्तमान सरकार बन्द समाज निर्माण गर्ने पूर्ण अधिनायकवादको लक्ष्यमा ‘बहुदलीय पञ्चायती व्यवस्था’ को अभ्यासमा रहेको उल्लेख गर्दै सबै नेपालीलाई सोध्नुभएको छ, के तपाई आफ्नो व्यक्तिगत फोन समेत सरकारले रेकर्ड गर्न पाउने कानून बनाउन दिने पक्षमा हुनुहुन्छ ? के तपाई सामाजिक सञ्जालमा कुनै सामान्य व्यंग्य कसैलाई गरे वापत ५ वर्ष जेल बस्न तयार हुनुहन्छ ?
उहाँले नेपाली कांग्रेस स्थापनाकालदेखि नै नागरिक स्वतन्त्रताका पक्षमा लड्दै आएको उल्लेख गर्दै अभिव्यक्तिको स्वतन्त्रता संकुचित गर्ने विधेयकहरुका विरुद्ध संसददेखि सडकसम्म दृढतापूर्वक विरोध गर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेसले आफ्नो नेतृत्वको सरकारका पालामा ल्याएको हालसम्मकै सबैभन्दा ठूलो अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई कार्यान्वयन गर्नका लागि सो सम्झौता तत्काल संसदमा पेश गर्न सरकार समक्ष माग गरको छ ।
यस्तै तराई–मधेशका विभिन्न जिल्लामा उखु खेती गरिहेका कृषकहरुको आन्दोलनप्रति समर्थन जनाउँदै कांग्रेसले किसानहरुलाई तत्काल रकम भुक्तानी दिन प्रभावकारी पहल गर्न सरकारसमक्ष माग गरेको छ ।
कांग्रेसले उखुको उचित मूल्य निर्धारण गर्नूको साथै चिनी उद्यमीहरुको समस्याको समाधान गर्न पनि माग गरेको छ ।
पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका प्रवक्ता शर्माले नेपाल ट्रष्ट अन्तर्गतको गोकर्णको जग्गा विगतमै न्यून मूल्यमा लिजमा दिइएको र लामो समयावधि बाँकी छँदै नवीकरण गरिएको विषयलाई गम्भीर रुपमा लिदै सो निर्णय फिर्ता लिन सरकार समक्ष आग्रह गरेको छ । कांग्रेसले गोकर्ण, दरवारमार्ग, ताहाचल लगायत अन्य सबै विवादास्पद प्रकरणको पृष्ठभूमिदेखिकै गम्भीर छानविन र कार्वाहीका लागि सम्बन्धित निकायहरु समक्ष माग गरेको छ ।
नेपाली कांग्रेसले प्रदेशहरुको नामाकरण र राजधानी चयनको अधिकार संविधानले प्रदेश सभालाई दिएको स्मरण गराउदै संघीयताको मर्म विपरीत नेकपाको सचिवालयले प्रदेश ३ का बारेमा निर्णय गरेर आदेश जारी गरेको विषयलाई पनि गम्भीर रुपमा लिइएको बताएको छ । कांग्रेस प्रवक्ता शर्माले यसलाई प्रदेश सभाको अधिकार अपहरण गरिएको अप्रिय घटनाका रुपमा लिइएको उल्लेख गर्नुभएको छ ।
नेपाली कांग्रेस संघीयतालाई असफल बनाउने ढंगले केन्द्रको अनधिकृत निर्णय नथोपर्न नेकपालाई अपिल गर्दै सबै खाले दवावबाट मुक्त रहेर प्रदेशको नामाकरण र राजधानी चयनको विषयमा स्वतन्त्र ढंगले निर्णयमा पुगेर प्रदेश र प्रदेश सभाको गरिमा उच्च बनाउन सबै प्रदेश सभा, सभामा रहेका राजनैतिक दल एवं सांसदहरुसंग अपील पनि गरको छ ।
नेपाली कांग्रेसले पुष १६ गते अर्थात् जनवरी १ तारिखबाट प्रारम्भ हुने गरी नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२०को सफलताको लागि शुभकामना दिंदै ँ ‘एक परिवार दुई पर्यटक’ को नाराका साथ पार्टीको देशभरिका सबै तह तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिहरुलाई भ्रमण वर्षमा योगदान गर्न अपिल पनि गरको छ ।
कांग्रेसले जननेता वीपी कोइरालाले राष्ट्रिय एकता र मेलमिलापको नीति प्रतिपादन गर्नु भएको पुस १६ गतेको स्मरण गर्दै यो दिवसले पार्टीमित्र पनि अपूर्व एकता र मेलमिलापको वातावरण सिर्जना गर्न प्रेरित गर्ने विश्वास लिएके छ । आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमतमा पुर्याएर देशमा स्थापित गणतन्त्रसहितको बहुदलीय संसदीय लोकतान्त्रिक व्यवस्थाको संरक्षण र सम्बर्धन गर्दै यसै राजनीतिक पद्धतिका माध्यमबाट देश र जनतालाई समृद्ध पार्ने अवस्था सिर्जना गर्नका लागि पार्टीको चौधौं महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्ने अनुकूल वातावरण सिर्जना गर्न पार्टीका कार्यकर्ता र शुभेच्छुकसंग आग्रह गरेको छ ।