Prakash Adhikari January 14, 2018

 

काठमाडौं, २९ पौष । नेकपा (एमाले)ले आसन्न राष्ट्रिय सभा निर्वाचनको लागि उम्मेद्वारहरुको मापदण्ड निर्धारण गर्नुको साथै सिफारिस विधि पनि तय गरेको छ ।

पार्टीका महासचिव इश्वर पोखरेलको अध्यक्षता र कार्यबाहक अध्यक्ष वामदेव गौतमको प्रमुख आतिथ्यमा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शुक्रबार बसेको केन्द्रीय सचिवालयको ४९ औं बैठक बैठकले यसको टुंगो लगाएको हो ।

बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि संविधानको धारा ८७ बमोजिमको योग्यता पुगेका, पार्टीमा लामो योगदान गरेका,
पार्टीसँग वैचारिक आबद्धता राख्दै समाजसेवा, संस्कृति, कला, साहित्य, विज्ञान, प्रविधि लगायत सामाजिक क्षेत्रमा विशिष्ट योगदान पु¥याएका, भौगोलिक र सामाजिक सन्तुलन मिलेका,
स्थानीय, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबनेका तथा समानुपातिक सूचीमा नाम समावेश नभएका सहित विभिन्न विषयका विज्ञ तथा विशेषज्ञहरु पार्टीको उम्मेद्वार बन्न सक्ने मापदण्ड तय गरेको छ ।

एमालेका केन्द्रीय सचिवालयका सचिव प्रदीप ज्ञवालीले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइए अनुसार सोही बैठकले उम्मेद्वार सिफारिसको विधि पनि तय गरेको छ । जस अनुसार प्रदेश संगठन कमिटीको सचिवालय बैठकबाट उपरोक्त मापदण्ड अनुसारको नाम सिफारिस गरी माघ ५ गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्नेछ ।

एमालले राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्ने निर्वाचक मण्डलका सदस्यहरुलाई एकल संक्रमणीय मत प्रणालीका सम्बन्धमा प्रशिक्षण दिने व्यवस्था सम्बन्धित प्रदेश संगठन कमिटीलाई निर्देशन समेत दिएको छ ।

राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश सभाका सदस्य र संबन्धित प्रदेशका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु मतदाता रहने संवैधानिक व्यवस्था रहेको छ ।
हालै जारी भएको अध्यादेशले राष्ट्रिय सभाको निर्वाचन एकल संक्रमणीय मतदान पद्धतिको आधारमा हुने व्यवस्था गरेको छ ।

शीतलहर पीडितको राहतमा जुट्न आग्रह

एमालेको बैठकले शीतलहर तथा भाइरल ज्वरोबाट प्रभावित क्षेत्रमा पार्टीको तर्फबाट राहत उपलब्ध गराउन सम्बन्धित तहका पार्टी कमिटीहरुलाई तत्काल परिचालित हुन पनि निर्देशित गरिएको छ ।

बैठकले केही दिनयता तराई–मधेसमा चलेको शीतलहरबाट ज्यान गुमाउने व्यक्तिहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै तत्काल न्यानो कपडा, दाउरा तथा आवश्यक राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको छ ।

त्यसरी नै विगत केही दिनयता फैलिएको भाइरल ज्वरोबाट जाजरकोटमा कैयौं व्यक्तिको ज्यान गएको र धेरै गम्भीर विरामी परेको स्थितिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकहरुप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ । प्रभावित क्षेत्रमा तत्काल स्वास्थ्य टोली पठाउन तथा पर्याप्त औषधिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको छ ।

Share Now

Leave a comment.