Prakash Adhikari January 5, 2020

बग्दाद(इराक), २० पौष(बीबीसी) । इराकको राजधानी बगदादमा अमेरिकी हवाई हमलामा शुक्रवार मारिएका इरानी उच्च सैन्य कमान्डर कासिम सुलेमानीको शवयात्रामा ठूलो भिड सहभागी भएको छ।

सुलेमानी इरानको मध्यपूर्व मामिलाका मुख्य शिल्पी थिए र इरानले उनको हत्याको ‘कडा बदला’ लिने प्रतिज्ञा गरेको छ।

शनिवार बगदादमा जम्मा भएको समूहले सुलेमानीको शोक मनाउने पहिलो दिनको शुरूवात गरेको हो।

सुलेमानीको निधनमा तीन दिनसम्म शोक मनाउने घोषणा गरिएको छ।

अन्तिम संस्कार
उनको शवलाई इरान लगिनेछ र उनको गृहनगर केरमानमा मङ्गलवार अन्तिम संस्कार गरिने बताइएको छ।

शोक
शोकमग्न मानिसहरू
उक्त भिड बगदादमा मारिएका अबु महदी अल-मुहन्दीसको निधनको पनि शोक मनाउन जम्मा भएको थियो।

मुहन्दीसले इरानी समर्थन रहेको कतैब हेजबुल्लाह समूहको नेतृत्व गर्थे र इरानसँग मिलेका मिलिशिया समूहहरूको छाता समूहको पनि नेतृत्व गर्थे।

शोकमग्न मानिसहरू बगदादमा शवयात्रा शुरू हुनुअगावै बिहानैदेखि जम्मा हुन थालेका थिए।

उनीहरूले इराकी र मिलिशियाका झण्डा फहराउँदै “अमेरिका मुर्दाबाद” को नारा लगाएका थिए।

शवयात्रामा सहभागीहरूले सुलेमानीको र कैयौँले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको तस्बिर बोकेका थिए।

केही इराकीहरूले बगदादमा सुलेमानीको हत्यापछि खुसियाली मनाउँदै प्रदर्शन गरेका विवरण पनि आएका थिए।

कासिम मारिएको विरोधमा तेहरानमा जुलुस
कासिम मारिएको विरोधमा तेहरानमा जुलुस
हालैका महिनामा इराकमा गरिएका शान्तिपूर्ण प्रदर्शनमाथि दमन गर्ने योजना बुनेको सुलेमानीमाथि आरोप थियो।

कासिम सुलेमानी को थिए?
कासिम सुलेमानी
कासिम सुलेमानी
६२ वर्षीय सुलेमानी सर्वोच्च नेता आयतोल्लाह खामेनी पछिका दोश्रो शक्तिशाली नेताका रूपमा लिइन्थे।

इरानको रिभोलुशनरी गार्ड कर्प्सको उच्चतम एकाइ द क्विड फोर्सले आयोतोल्लाह खामेनीलाई रिपोर्ट गर्थ्यो र सुलेमानीलाई राष्ट्रिय नायकका रूपमा लिइन्थ्यो।

क्विडमा उनको २१ वर्षे नेतृत्वकालमा इरानले हेजबुल्लाहलाई बलियो बनाएको छ र लेबननमा इरानी समर्थक लडाकू समूहलाई विस्तृत बनाएको मानिन्छ।

इराक र सिरियामा उसको सैन्य उपस्थिति बढाएको र सिरियाको लामो गृहयुद्धमा लडाकू समूहविरुद्ध कारबाहीको योजना कार्यान्वयनमा ल्याएको जस पनि दिइन्छ।

अमेरिकी वेसमा  राती आक्रमण

अमेरिकी सेना रहेको इराकको बलादस्थित एउटा वेसमा शनिबार राती आक्रमण भएको छ। अमेरिकी फौज रहेको सो वेसमा दुईवटा रकेटबाट प्रहार भएको सुरक्षा स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले जनाएको छ।

ती रकेट प्रहार भएको ठाउँ बगदाददेखि ८० किलोमिटर उत्तरतर्फ रहेको अर्को समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

अन्य केहि समाचार एजेन्सीहरुले त्यहाँस्थित अमेरिकी दूतावासलाई समेत लक्षित गरी ती प्रहार गरेको बताएका छन्। समाचारहरूमा त्यस प्रहारमा कुनै मानवीय क्षतिकाे जानकारी नआएकाे जनाइएकाे छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा इरानका सबैभन्दा शक्तिशालीमध्ये एक जर्नेल कासिम सुलेमानी मारिएपछि वाशिंगटन र तेहरानबीच तनाव बढिरहेका बेला अमेरिकी सेना तैनाथ रहेको ठाउँमा प्रहार गरिएको हो।

स्लेमानीको हत्या भएपछि इरानले त्यसको बदला लिने जनाएको थियो।

सुलेमानी ६०३ को हत्यामा जिम्मेवार : अमेरिका

शनिबार अमेरिकी विदेश मन्त्रालयले जर्नेल कासिम सुलेमानी इराकमा रहेका कम्तिमा ६०३ जना अमेरिकी सर्भिसका सदस्यहरुको हत्या र हजारौंलाई अंगभंग बनाउनेमा जिम्मेवार रहेको दाबी गरेको थियो। सन् २००३ देखि २०११ सम्म इराकमा मारिने अमेरिकीमध्ये १७ प्रतिशतको मृत्युमा सुलेमानी र उसको आइआरजीसी–कद्स फोर्स जिम्मेवार ठहरिने अमेरिकाले दाबी गरेको छ।

त्यसको जवाफमा इरानका विदेश मन्त्री जवाद जरिफले अमेरिकालाई मध्यपश्चिम क्षेत्रबाटै हटाउने बताएका थिए।

त्यहाँ दुवैतर्फबाट भइरहेका गतिबिधि र तयारी हेर्दा ठूलै युद्धको संकेत देखिएको त्यहाँको तनावलाई नजिकबाट नियालीरहेका अधिकारी, वैदेशिक मामिला विज्ञ र पत्रकार लगायतले सामाजिक सञ्जालमा संप्रेषण गरिरहेका छन्।

Share Now

Leave a comment.