Prakash Adhikari January 15, 2018

काठमाडौं, १ माघ । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवाले मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन्।

सन्देशमा राष्ट्रपति भण्डारीले नेपालमा हरेक जातजाति र क्षेत्रमा मनाइने चाडपर्वको आआफ्नै राष्ट्रिय महत्व रहेको रयस्ता पर्वले नेपालका विभिन्न जातजाति बीच एकआपसमा भाइचाराको सम्बन्ध बढाई राष्ट्रिय एकता सुदृढ बनाउन मद्दत पुगेको उल्लेख गरेकी छन् ।

राष्ट्रपतिले सन्देशमा लेखेकी छिन्, “हाम्रा चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान, अनेकतामा एकता कायम गर्नमा महत्वपूर्ण योगदान गरेका छन्।”

यसैगरी, उपराष्ट्रपति पुनले ‘नेपालका मगर, थारु र छन्त्याल समुदायको महान् सांस्कृतिक पर्व एवं नेपालीहरुको महत्वपूर्ण चाड माघे संक्रान्ति÷माघी पर्वको पावन अवसरमा दिएको शुभकामना सन्देशमा यस पर्वको माध्यमबाट नेपालीहरुकाबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकताको अभिवृद्धि गरी राष्ट्रिय एकतालाई सुदृढ् पार्ने विश्वास व्यक्त गरेका छन् । यस्ता पर्वले राष्ट्रिय एकतालाई सुदृढ गर्न र देशलाई आर्थिक समृद्धिको मार्गमा द्रुततर गतिमा अगाडि बढाउन सबैलाई प्रेरणा गर्ने पनि बताएका छन् ।

यसै गरी प्रधानमन्त्री शेरबहादुर देउवाले माघे संक्रान्ति तथा माघी पर्वको अवसरमा दिएको सन्देशमा यस पर्वले सम्पूर्ण नेपालीबीचमा कायम रहेको सद्भाव, सहिष्णुता र एकतालाई अझ प्रगाढ बनाउँदै जाने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री देउवाले थारू समुदायको समग्र हितका लागि संविधानमा थारू आयोगको व्यवस्था गरिएको र यो व्यवस्थाको कार्यान्वयनमार्फत थारू समुदायको विकास र उत्थान हुने उल्लेख गरेका छन् ।

‘उनले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर मुलुक नेपालको संविधानले समावेशी लोकतन्त्रलाई आत्मसात् गर्दै सबै जातजाति, धर्म र समुदायको विकास र उत्थानमा पर्याप्त व्यवस्थाहरू गरेको उल्लेख गरेका छन् ।

Share Now

Leave a comment.