नयाँ दिल्ली (भारत),१ माघ । अभिनेता रजनीकान्तको फिल्म ‘दरबार’ ले चार दिनमा विश्वभर डेढ अर्ब भारतीय रुपैया कमाएको छ ।
लायका प्रोडक्शन्सले आफ्नो ट्विटर एकाउन्टमा एक पोस्टर साझेदारी गर्दै फिल्मको कमाई खुलाएको हो ।
९ जनवरीमा प्रदर्शनमा आएको दरबार फिल्म तीन भाषामा रिलिज गरिएको छ । फिल्मले तमिल र तेलुगूमा सानदार कमाई गरेको छ ।
तर, ‘दरबार’ ले हिन्दीमा भने खासै राम्रो व्यापार गर्न सकेको छैन ।
४ दिनको विकेन्ड पाएको फिल्मले अभिनेता अजय देवगनको फिल्म ‘तानाजी स् द अनसंग वारियर’ र अभिनेत्री दीपिका पादुकोणको ‘छपाक’ का कारण हिन्दी भर्सनमा राम्रो व्यापार गर्न नसकेको हो ।
एआर मुरगादोसले फिल्मको निर्देशन गरेका हुन् । यसमा रजनीकान्त क्रोधी पुलिस अफिसरको भूमिकामा छन् ।
करीब २५ वर्षपछि उनले फिल्ममा पुलिसको भूमिका निभाएका हुन् । मुरगादोस र रजनीकान्तको यो पहिलो फिल्म हो ।
फिल्ममा नयनतारा, सुनील शेट्टी, प्रतीक बब्बर, निवेता थोमस, योगी बाबूलगायतका कलाकारहरुको पनि अभिनय छ । रजनीकान्त १२ डिसेम्बरमा ६३ वर्षका पुगेका छन् । अब, उनी फिल्मबाट सन्यास लिने उपयुक्त समयको प्रतीक्षामा रहेको बताइएको छ ।
‘दरबार’ रिलिजको एक दिनपछि प्रदर्शनमा आएको मेघना गुलजारको निर्देशनमा बनेको दीपिका पादुकोण र विक्रान्त मेस्सीको ‘छपाक’ भन्दा अजय देवगन, सैफ अली खान र काजोलको ‘तानाजी स् द अनसंग वारियर’ कमाईको मामलामा धेरै अगाडि निस्किएको छ ।
‘छपाक’ ले तीन दिनमा २१ करोड ३७ लाख कमाउँदा ‘तानाजी’ ले ७५ करोड ६८ लाखको व्यापार गरेको छ ।