Prakash Adhikari January 16, 2020

 

काठमाडौं, २ माघ । बी एण्ड सी अस्पताल झापाका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न भक्तपुर जिल्ला प्रशासनले प्रहरीलाई अनुमति दिएको छ भने काठमाडौं जिल्ला अदालतले मानहानीको मुद्दामा २१ दिनभित्र जवाफ दिन आदेश दिएको छ ।

उहाँका विरुद्धमा आफ्नो मानहानी गरको भन्दै उचित क्षतिपूर्तिको दावी गर्दै चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले जिल्ला अदालत काठमाडौंमा मुद्दा हाल्नुभएको थियो भने आफूउपर कुनै बेला गुण्डागर्दी शैलीमा आक्रमण हुन सक्ने भन्दै उनीउपर निगरानी राखी आफू र आफ्नो परिवारका सदस्यहरुको जीउ ज्यानको सुरक्षा गर्त भक्तपुर प्रहरी परिसरमा निवेदन दिनुभएका थियो । भक्तपुर प्रहरी परिसरले निवेदनको ब्यहोरा र विकसित घट्नाक्रमलाई दृष्टिगत गर्दै निवेदकको सुरक्षाको लागि किटानी जाहेरीमा परेका प्रसाईलाई पक्राउ गर्न उपयुक्त देखेर सोको लागि जिल्ला प्रशासन कार्यालय भक्तपुरको अनुमति मागेको थियो । जिल्ला प्रशासन भक्तपुरले औचित्यको आधारमा अनुमति दिएको हो ।

कलेज सञ्चालक प्रसाई आफ्नो कलेजलाई सम्बन्ध दिने सन्दर्भमा पछिल्लो पटक चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा.श्रीकृष्ण गिरीले गत मंसिर १५ गते होटल द्धारिकाजमा २० करोड रुपैया घुस माग्नुभयो भनेर गत मंगलबार पत्रकार सम्मेलन नै गरेपछि उहाँ विवादमा आउनुभएको थियो । उहाँले यो विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शद्धीकरण विभागमा उजुरी दिनुभएको थियो ।

प्रसाईको पत्रकार सम्मेलनको लगत्तै चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीले कलेजको सम्बन्धनका सम्बन्धमा आवश्यक कागजातसहित निवेदन दिन आग्रह गरेपछि आफूलाई बदनाम गराउन सञ्चालक प्रसाईले घुस मागेको आरोप लगाउनुभएको थियो । डा. गिरीले आफूले द्धारिका होटल नै नटेकेको एक दशकभन्दा बढी भएको बताउनुभएको थियो ।

स्वभाव र विगतको इतिहास हेर्दा बामपन्थी त्यसमा पनि माओवादी विचारधारा निकट गिरी घुसका भरमा काम गर्ने राष्ट्रसेवकमा पर्नुहुन्न ।

उहाँबाटै असुरक्षित भएको किटानी जाहेरी परेकोले प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले नेपाल प्रहरीलाई उहाँलाई पक्राउ गर्न अनुमति दिनुभएको हो । प्रहरीले पक्राउ आदेश लिएपछि प्रसाईं भने फरार हुनुभएको छ।

जिल्ला प्रशासन कार्यालयको आदेश पाए लगतै भक्तपुरस्थित प्रसाईको निवासमा पुगेको प्रहरीको टोलीले उहाँ घरमा नभेटिएको बताएको छ ।प्रहरीले झापास्थित प्रसाईंको घरमा पनि खोजी गरेको छ । त्यहाँ पनि उहाँ भेटिनुभएको छैन् । बुधबार साँझबाटै उहाँको मोबाइल पनि स्वीच अफ रहेको छ ।

यता झापाको बी एण्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईलाई २१ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन जिल्ला अदालत काठमाडौंले आदेश गरेको छ ।

जिल्ला अदालतका अधिकृत टीकासिंह खत्रीले प्रसाईंलाई लिखित जावफसहित २१ दिनभित्र अदालतमा हाजिर हुन आदेश दिएको जानकारी दिनुभएको छ ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले आफूले घुस मागेको भन्दै प्रसाईंले आफ्नो मानहानी गरेको भन्दै गाली बेइज्जती तथा मानहानीमा मुद्दा दायर गरेका छन् । अदालतले सोही मुद्दामा प्रसाईंलाई लिखित जवाफसहित हाजिर हुन आदेश दिएको हो ।

Share Now

Leave a comment.