काठमाडौं, २ माघ । मंगलबार(माघ २ गते) देखि एनआइसी एशिया र सिटिजन्स् बैंक इन्टरनेशनलका सहायक कम्पनीहरु क्रमश एनआइसी एशिया क्यापिटल र सीबीआइएल क्यापिटलकोे म्युचुअल फण्डको बिक्री शुरु हुने भएको छ।
एनआइसी एशिया क्यापिटलले रु एक अर्ब बराबरको एनआईसी एशिया ग्रोथ फण्ड नामक म्युचुअल फण्ड ल्याउदै छ भने सिबिआइएल क्यापिटलले पनि रु एक अर्ब बराबरकै सिटिजन्स् म्युचुअल फण्डका इकाई बिक्री गर्ने भएको छ ।
एनआइसी एशिया र सीबीआइएल दुवै क्यापिटलले १० रुपैयाँ प्रतिइकाईका दरले १०/ १० करोड इकाई बिक्री गर्न लागेका हुन ।
एनआइसी एशिया क्यापिटलले व्यवस्थापन गरेको एनआइसी एशिया ग्रोथ फण्डको १५ प्रतिशत कोष प्रवद्र्धक एनआइसी एशिया बैंकलाई सुरक्षित गरिएको छ ।
बाँकी रहेको ८ करोड ५० लाख इकाई विभिन्न संघसंस्था तथा व्यक्तिका लागि बिक्री गरिनेछ । यो योजना छिटोमा माघ ८ गते तथा ढिलोमा माघ २१ गते सम्म बिक्री गरिनेछ ।
यो म्युचुअल फण्डमा सहभागी हुन चाहने संघसंस्था तथा व्यक्तिले न्यूनतम १०० इकाईदेखि अधिकतम २० लाख इकाईसम्म खरिद गर्न सक्नेछन् । उक्त म्युचुअल फण्डले औसत वार्षिक न्यूनतम १६ प्रतिशतसम्म नगद लाभांश दिने विश्वास दिलाएको छ ।उक्त म्युचुअल फण्डको वार्षिक प्रतिफल पहिलो वर्ष १५दशमलव ५७ तथा सातौं वर्षमा १६दशमलव १३ प्रतिशत दिने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।
यता १ अर्ब रुपैयाका इकाई निष्कासन गरिरहेको सीबीआइएल म्युचुअल फण्डको १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई कोष प्रवद्र्धक सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडलाई र बाँकी ८ करोड ५० लाख इकाई संगठित संस्था तथा सर्वसाधारणका लागि निष्कासन हुन लागेको हो ।
सीबीआईएल क्यापिटलले म्युचुअल फण्डको प्रतिइकाई १० का दरले न्यूनतम १०० इकाई अर्थात् १००० रुपैयाँ र अधिकतम २० लाख इकाई अर्थात् २ करोड रुपैयाँ बराबरको आवेदन दिन सकिने जनाएको छ ।
सीबीआईएल क्यापिटलको ७ वर्षे बन्दमुखी यो सामूहिक लगानी कोषमा आगामी माघ २ गतेदेखि छिटोमा माघ ७ र ढिलोमा माघ १७ सम्म आवेदन दिन सकिने छ । म्युचुअल फण्डले ७ वर्षको औसतमा साढे २२ प्रतिशतको वार्षिक प्रतिफल दिने लक्ष्य लिएको सिबिआईएल क्यापिटलले जनाएको छ ।