Prakash Adhikari January 23, 2020

काठमाडौं,९ माघ(रासस) । राष्ट्रियसभा सदस्यको रिक्त १८ पदका लागि भइरहेको निर्वाचनअन्तर्गत मुलुकका सातै प्रदेशमा सम्पन्न भएकोे छ ।

मतदानको लागि मतदाताहरु बिहानै देखि मतदान केन्द्रमा पुुगेर लाइनमा बसेका थिए । निर्वाचन आयोगले बिहान १० देखि अपराह्न ४ बजेसम्म समय तोकेको थियो।

सातै प्रदेशको उच्च अदालत रहेका जिल्ला सदरमुकाम क्रमशः मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा निर्वाचन हुँदैछ। निर्वाचनका लागि ती जिल्लाका जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत तोकिएको छ।

निर्वाचनमा प्रदेशसभाका ५ सय ५० सदस्य तथा गाँउपालिकाका अध्यक्ष उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख उपप्रमुख १ हजार ५ सय ६ गरी कूल २ हजार ५६ मतदाता हुनुहुन्छ।

निर्वाचनमा छ राजनीतिक दलका ४५ उम्मेदवार प्रतिस्पर्धामा छन्।

निर्वाचनको लागि प्रदेशसभा सदस्यको मतभार ४८ तथा स्थानीय तहका गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष एवं नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १८ कायम भएको छ।

मतदान सकिनासाथ राजनीतिक दलको सहमतिमा मतगणना कार्य प्रारम्भ हुने छ। आजै राति सातै प्रदेशबाट निर्वाचनको नतिजा प्राप्त हुनेछ।

यसैबीच, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, आयुक्तद्वय नरेन्द्र दाहाल र इश्वरीप्रसाद पौड्यालले वाग्मती प्रदेशको ललितपुर नगरपालिका–४ स्थित वडासमितिको भवन परिसरमा कायम गरिएको मतदान केन्द्रमा भइरहेको मतदानको निरीक्षण गर्नुभएको थियो।

उक्त मतदान केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ११० र स्थानीय तहतर्फ २३८ मतदाता कायम छन्।

Share Now

Leave a comment.