Prakash Adhikari January 25, 2020

काठमाडौं, ११ माघ । यही माघ २२ देखि २९ सम्म ( फेब्रुअरी ५ देखि १२ ) नेपालमा आयोजना हुने विश्वकप लिग २ अन्तर्गतको अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक सिरिजको लागि नेपाल क्रिकेट संघले नेपाली राष्ट्रिय टिमको घोषणा गरको छ।

घोषित टिममा युवा कमल सिंह ऐरी र कुशल मल्लले पहिलो पटक मौका पाएका छन् भने पारिवारिक खुसीयालीमा अल्झिनु परेका कारणले सोमपाल कामी र बसन्त रेग्मीले स्थान गुमाएका छन् ।

नेपाली अन्डर १९ टिमको लागि खेलिसकेका कमलले अविनाश बोहरा र करन केसीसंग तिब्र गति बलिंगको जिम्मेवारी सम्हाल्नेछन् भने टि २० राष्ट्रिय टिममा डेब्यु गरिसकेका कुशल मल्लले एकदिवसीय राष्ट्रिय टिममा पहिलो पटक मौका पाएका छन्। देब्रे हाते ब्याट्सम्यान मल्ल देब्रे हाते स्पिन बलिंग पनि गर्न सक्छन्।

तीब्र गति बलर सोमपाल कामी भने यही माघ १७ गते प्रतिभा घिमिरेसंग बिबाह बन्धनमा बाँधिने भएकोले बन्द शत्रमा रहने टोलीमा अन्तिम १४ मा स्थान बनाउन असफल भएका छन्। बसन्त भर्खरै छोरी जन्मिएका कारण बन्दसत्रमा उपस्थित थिएनन्।

भर्खरै दाइको असामयिक निधन भएका कारण बन्दसत्र छोडेर भारत पुगेका शरद भेसावकरलाई भने टिममा स्थान दिईएको छ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहने नेपाली टिममा उपकप्तानको जिम्मेवारी , दीपेन्द्र ऐरीले सम्हाल्ने छन ् भन पूर्वकप्तान पारस खड्का, शरद भेसावकर, सन्दीप लामिछाने, बिनोद भण्डारी (विकेटकिपर) , करन केसी, आरिफ शेख, रोहित पौडेल, अविनाश बोहरा, सुशन भारी, ललित राजबंशी, कमल ऐरी र कुशल मल्ल रहनेछन् ।

पवन सर्राफ, सुबाश खकुरेल, सन्दिप जोरा र किशोर महतोलाई बैकल्पिक खेलाडीको सूचीमा राखिएको छ।

लिग २ को लागि नेपालको मुख्य प्रशिक्षक उमेश पटवाललाई जगत टमाटा र बसन्त शाहीले सघाउने भएका छन्। टिमको एनालिस्ट रमन शिवाकोटी रहेका छन् भने फिजियो बिक्रम न्यौपाने रहेका छन्।

विश्वकप लिग(२ अन्तर्गत नेपालले आफ्नो पहिलो खेल माघ २२ गते ओमानसंग खेल्नेछ। माघ २५ गते अमेरिकासंग, माघ २६ गते ओमानसंग तथा माघ २९ गते अमेरिकासंग चौथो खेल हुनेछ।

Share Now

Leave a comment.