Prakash Adhikari January 26, 2020

काठमाडौं, १२ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दिनुभएका अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित हुनुभएको छ।

आइतवार दिउँसो बसेको प्रतिनिधसभाको बैठकमा अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सापकोटा निर्विरोध सभामुख निर्वाचित भएको घोषणा गर्नुभएको हो।

ज्येष्ठ सदस्य महन्थ ठाकुरले बैठक सुरु गरेलगत्तै सभामुख चयनको कार्यसूचीमा प्रवेश गरेको थियो। बैठकको सुरुमै बैठकको अध्यक्षता गर्नुभएका ठाकुरले एकल उम्मेदवारी परेको सापकोटाको नाम प्रस्ताव र समर्थन गर्न समय दिनुभएको थियो।

बैठकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले सभामुखमा सापकोटाको नाम प्रस्ताव गर्नुभयो भने नेम्बाङको प्रस्तावमा राष्ट्रिय जनता पार्टी नेपालका सांसद लक्ष्मणलाल कर्णले समर्थन जनाउनुभयो।

सांसद कर्णपछि नेकपाकी सांसद ओनसरी घर्तीले सापकोटाको नाममा समर्थन जनाउनुभयो।

सभामुखमा एकल उम्मदेवारी परेकाले सापकोटा निर्विरोध निर्वाचित हुनभएको घोषणा गरिएको थियो ।

सापकोटालाई सभामुख बनाउने प्रस्तावमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ प्रस्तावक र नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङ, सांसद ओनसरी घर्ती तथा राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्ण समर्थक रहनुभएको थियो।

प्रतिनिधिसभाको गरिमामय पद सभामुखमा सापकोटाको निर्वाचनलाई रोक्नको लागि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा अन्तरिम आदेशको माग गर्दै रिट निवेदन दिनुभएको थियो ।

सो रिट निवेदनमा सुनुवाईको लागि प्रधानन्यायाधीशले न्यायाधीश हरि फुयाँलको इजलाश तोक्नुभएको थियो । तर न्यायाधीश हरि फुँयालले रीटमा माग गरिएको विषयमा आफूले विगतमा परेको मुद्दामा रिट निवेदकको पक्षमा बहस गरेकोले हेर्न नमिल्ने भन्दै पन्छिनुभयो । र सुनवाई स्थगित हुन गयो । यो नै नेकपाका तर्फबाट सभामुखमा प्रस्तावित सांसद सापकोटालाई सभामुख निर्वाचनको निमित्त अभयदान हुन गयो ।

माघ ६ गते बसेको प्रतिनिधिसभाको बैठकले आजका लागि निर्वाचनको मिति निर्धारण गरेको थियो। त्यस दिनको बैठकमा सभामुखको हैसियतमा रहेका ज्येष्ठ सदस्य महन्थ ठाकुरले उपसभामुख शिवमाया तुम्बाहाङ्फेले दिएको राजीनामाबारे बैठकलाई जानकारी गराउनुभएको थियो।

तत्कालीन सभामुख कृष्णबहादुर महराले संसद सचिवालयमा कार्यरत महिलामाथिको यौन दुर्व्यवहारमा परेर गत असोज १५ गते राजिनामा दिनुभएको थियो । उहाँ अहिले पुर्पक्षका लागि थुनामा रहनुभएको छ।
सभामुखको निर्वाचन समाप्त भएकोले अब उपसभामुखको निर्वाचन कार्यतालिका तय हुनेछ।

Share Now

Leave a comment.