जेनेभा(स्वीजरल्याण्ड),१७ माघ(बीबीसी) । विश्वस्वास्थ्य संगठनले नयाँ कोरोनाभाइरसको सङ्क्रमणले विश्वव्यापी स्वास्थ्य आपत्काल निम्त्याएको घोषणा गरेको छ।
दुई सयजनाको ज्यान लिइसकेको सो सङ्क्रमणलाई लिएर त्यस्तो घोषणा गर्नुपर्नाको मुख्य कारण चीनबाहिर त्यसको सम्भाव्य फैलावट रहेको बताइएको छ।
चिनियाँ अधिकारीहरूले उक्त सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या दुई सय नाघेको बताउँदै गर्दा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सो नयाँ कोरोनाभाइरस सङ्क्रमणलाई लिएर विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको हो।
डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले उक्त घोषणा गर्नुका पछाडि मुख्य कारण चीनबाहिर यसको अवस्थालाई लिएर भएको बताएका छन्।
हाल उक्त सङ्क्रमण अन्य १८ देशमा फैलिसकेको छ। ती १८ देशमा ९८ जनामा सङ्क्रमण भएको पाइएको छ।
तर चीनबाहिर हालसम्म यसका कारण कसैको ज्यान गएको छैन।
कमजोर देशमा फैलने चिन्ता
विश्व स्वास्थ्य संगठनले कमजोर स्वास्थ्य प्रणाली भएका मुलुकहरूमा यो भाइरस फैलन सक्ने त्रास रहेको बताए।
बीबीसीका स्वास्थ्य तथा विज्ञान सम्वाददाता जेम्स गालाहर भन्छन्, हाल ९९ प्रतिशत सङ्क्रमणका घटना चीनभित्र नै पाइएको र चीनले तिनलाई नियन्त्रण गर्नेमा डब्लुएचओ विश्वस्त रहेको पाइएको छ।

तर कमजोर स्वास्थ्य प्रणाली भएका मुलुकमा फैलिएमा अवस्था बदलिन सक्छ।
त्यसैले उनी भन्छन्, पछिल्लो घोषणापछि डब्लुएचओले निम्न तथा मध्यम आय भएका मुलुकहरूमा सङ्क्रमणको निरीक्षण र नियन्त्रणमा उसले सघाउन सक्नेछ।
यो घोषणाको अर्थ अब सबै देशलाई सङ्क्रमण फैलन रोक्न कडिकडाउ नियन्त्रणका उपाय अपनाउन आह्वान गरिएको जस्तै हो।
डब्लुएचओले चीनले अपनाएका उपायको प्रशंसा गर्दै उसले सङ्क्रमण नियन्त्रण गर्न असाधारण उपाय अपनाइरहेको बताएको छ।
जिनिभास्थित संवाददाता इमोजेन फोल्क्स भन्छिन्, “एक साता अगाडि १७ जनाको मृत्यु र पाँचसय जनामा रहेको सङ्क्रमण अहिले दश गुना धेरैको मृत्यु र आठ हजार जनामा सङ्क्रमण पुगेको सन्दर्भमा डब्लुएचओका सामु यो घोषणा गर्नुको विकल्प थिएन।”
विदेशीको उद्धार
यसबीच सङ्क्रमणको केन्द्रमा रहेको वुहानबाट विदेशी नागरिक उद्धार गर्न विशेष चार्टर्ड गरिएका थप विमान शुक्रवार त्यहाँबाट उड्दैछन्।
दुई सय ब्रिटिश नागरिक त्यहाँबाट प्रस्थान गर्नेछन्। उनीहरूलाई उत्तरी आयरल्यान्डको एक अस्पतालमा दुई साता एक्ल्याएर वा क्वारान्टीनमा राखिनेछ।
दुई सयजना फ्रेन्च नागरिक बोकेको विमान भर्खरै त्यहाँबाट उडेको छ। फ्रान्समा उनीहरूलाई १४ दिनसम्म क्वारान्टीनमा राखिनेछ।
करिब २ सयजना अमेरिकीहरू हाल क्यालिफोर्नियाको सैनिक क्याम्पमा क्वारान्टीनमा बसेका छन्।
कैयौँ विमानसेवाले चीनतर्फका उडान सीमित पारेका छन् वा कटौती गरेका छन्। दुई सङ्क्रमणका घटना पाइएपछि इटलीले त्यस्ता सबै उडान स्थगित गरेको छ।
अमेरिकामा मानिसबाट मानिसमा कोरोनाभाइरस सरेको पहिलो घटनाको पुष्टि गरिएको छ।
कोरोनाभाइरस कसरी सर्छ र यसबाट कसरी जोगिने?

कोरोनाभाइरस कसरी सर्छ र यसबाट कसरी जोगिने?
पहिले पनि भएका थिए यस्ता घोषणा
यसअघि डब्लुएचओले विभिन्न सङ्क्रमणका घटनामा पाँचपटक विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको थियो।
- स्वाइन फ्लु, २००९ – सन् २००९ मा फैलिएको एच वान एन वान भाइरसले दुई लाख मानिसको ज्यान लिएको थियो। विश्वले यसको गम्भीरतापूर्वक नियन्त्रण गर्न सकोस् भनेर आपत्काल घोषणा गरियो।
- पोलियो, २०१४ – सन् २०१२ मा उन्मूलनको सङ्घारमा पुगेको पोलियोको सङ्क्रमण २०१३ मा बढ्यो। उन्मूलनको प्रयासमा धक्का लाग्न सक्ने ठानिएर आपत्काल घोषणा गरियो।
- जिका, २०१६ – खासगरि दक्षिण र उत्तर अमेरिकी महादेशमा द्रुत गतिमा फैलिएपछि डब्लुएचओले जनस्वास्थ्य आपत्काल घोषणा गरेको थियो।
इबोला, २०१४ र २०१९ – यो सङ्क्रमणलाई लिएर दुई पटक आपत्काल घोषणा गरिएको थियो। पहिलो सङ्क्रमण अवधिमा सन् २०१४ को अगस्टदेखि सन् - २०१६ को मार्चसम्म पश्चिम अफ्रीकी देशहरूमा ३० हजार मानिस प्रभावित भए र ११ हजारभन्दा धेरैको ज्यान गयो। प्रजातान्त्रिक गणतन्त्र कंगोमा फैलिएपछि गत वर्ष पनि आपत्काल घोषणा भयो।


















