Prakash Adhikari February 11, 2020

सानेपा(ललितपुर)२७ माघ । नेपाली कांग्रेसको सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका नेता सुवर्ण समशेर जबराको निजी सम्पत्ति ललिता निवासको सम्बन्धमा चलाएको मुद्दालाई प्रतिशोध र बदनियतपूर्ण भन्दै भत्सर्ना गरेको छ ।

नेपाली कांग्रेसका नेता सुवर्ण समशेर जबारको निजी स्वामित्वमा रहेको ललिता निवासले त्यसले चर्चेको २९९ रोपनी ९ आना ३ पैसा जग्गा २०१७ साल आषाढमा उहाँकी पत्नी श्वेतप्रभालाई ५८ रोपनी र छोराहरु कनकसमशेर,कञ्चनसमशेर र रुक्मसमशेलाई ५७ रोपनीका दरले वण्डापत्र गरि लिखत पास गरिदिनुभएको थियो ।
२०१७ सालमा प्रजातन्त्रको हत्यापछि वीपी कोइराला,गणेशमान सिंह,कृष्णप्रसाद भट्टराई लगायतका बीपी मन्त्रिपरिषद्का सदस्य र वीपी पक्षधर कांग्रेस सांसदहरुलाई राजा महेन्द्रले पुस १ गते सैनिक लगाएर पक्राउ गरे र जेलमा राखे । डा. तुलसी गिरी, बिश्वबन्धु थापा लगायतका केही नेता तथा सांसदहरु राजा महेन्द्रको समर्थनमा गए । सो कदम हुनुपूर्व नै कोलकोत्ता जानुभएका सुवर्ण र राजाले पक्रन नसकेका कांग्रेस कार्यकतालाई आफूविरुद्ध संगठित हुन नदिन राजा महेन्द्रले २०१७ साल फागुन मा विशेष परिस्थिति नियन्त्रण ऐन ल्याए । सो ऐनमा तोकिएका व्यक्तिहरु तोकिएको घरद्धारमा आई नबसेमा तिनको नामको घर जग्गा र सम्पत्ति रोक्का रहने र जफत हुने प्रावधान थियो ।

सोही प्रावधान अन्तरगत राजा महेन्द्रको प्रशासन गृह मन्त्रालयले २०१८ फागुन १९ मा ७६ जना र चैत्र ३० मा ८३ जनाको सूची प्रकाशित गरी १ सय ५९ जनाको सम्पत्ति जफत गरेका थिए । सुवर्ण समशेर र कञ्चन समशेरको सम्पत्ति यसरी जफत भएको थियो ।

२ सय ९९ रोपनी ९ आना ३ पैसा मा जफत बाहेकको सम्पत्तिको उपभोगबाट रोक्नलाई जग्गा प्राप्ति ऐन २०१८अनुसार २०२१ साल मंसिर १७ गते विनाप्रयोजन ललितानिवाससहित ६ दरबारको जग्गा अधिग्रहणको क्षतिपूर्तिसमेत दिने सूचना जारी गरियो । सो सूचना जारी भएको एक हप्ता नबित्दै मंसिर २२ गते राजपत्रमा सूचना निकालेर बाग्मती,नारायणी,मेची भेरी अञ्चलाधीशहरुलाई सार्वजनिक सुरक्षा ऐन २०१८ को दफा १२ को अधिकार प्रत्योजन गरियो । जसमा आफ्नो कार्यक्षेत्रभित्र शान्तिसुरक्षाको नाममा कसैलाई पनि पक्राउ गर्ने अधिकार दिइएको थियो ।

राजकाज मुद्दा लागेका सुवर्ण र उहाँको परिवारले अधिग्रहणको मुआब्जा लिन आउने अवस्था थिएन । त्रिताल समितिले पनि सुवर्णको परिवारले सो जग्गाको मुआब्जा लिएको कुनै प्रमाण फेला पार्न सकेको छैन् । यसरी राजा महेन्द्र र उनको पञ्चायती प्रशासनले जफत र अधिग्रहणको नाममा हरण गरेको मध्ये २०४७ सालमा बनेको नेपाली कांग्रेसको सभापति कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारले प्रचलित ऐनको हदवन्दीभित्र रही फिर्ता दिने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम राजा महेन्द्रले हरण गरेको २९९ रोपनी ९ आना ३ पैसा जग्गा मध्यै ११२ रोपनी जग्गा २०४९ सालमा सुवर्णका सन्ततिहरुले फिर्ता पाएका थिए । सुवर्णका सन्ततिहरुले मोही नभएको जग्गा फिर्ता मागेकोमा भूमिसुधार कार्यालयले सो जग्गामा अतिविशिष्ट व्यक्तिहरुको निवास बनेको, ललितानिवासको मुख्य भवन नेपाल राष्ट्र बैंकले लिएको आदि कारण जनाउदै मोही कायम भएको क्षेत्रको जग्गा फिर्ता दिने निर्णय गर्यो । यसका विरुद्धमा मुद्दामा जाँदा सुवर्णका सन्ततिहरुको पक्षका वकिलले तारिख गुजारेकोले मोहीयुक्त जग्गा नै सुवर्णका हकदारको भागमा आयो ।

आफनो नाममा आएको जग्गा सुवर्णका सन्तति र स्थापित मोहीहरुले विक्री वितरण गरेको विषयलाई के पी ओली सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र अख्तियार लगाएर अपराध गरेझै प्रचार गरेको छ । नेपाली कांग्रेसले ललिता निवासको जग्गासम्बन्धी विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रस्तुत गरेको अभियोग पत्र आफैमा विरोधाभाषपूर्ण एवं दोहोरो मापदण्डयुक्त भएको जनाएको छ । कांग्रेसले भनेको छ, ‘यसले के प्रष्ट गर्दछ भने आयोगले नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारमाथि नेपाल सरकारको प्रभाव र दवावमा मुद्दा दायर गरेको छ । यो कार्य राजनैतिक पूर्वाग्रह र वदनियतले प्रेरित रहेको ठहर गर्दै बैठक घोर भत्र्सना र खेद व्यक्त गर्दछ तथा यस्तो प्रतिशोधपूर्ण व्यवहारको राजनीतिक रुपले प्रतिवाद गर्ने निर्णय गर्दछ । नेता विजयकुमार गच्छदार कानूनी रुपमा सामना गर्दै निर्दोष सावित हुनुहुनेछ भन्ने नेपाली कांग्रेसको विश्वास छ ।’

नेपाली कांग्रेसको २७ माघको बैठकले चीनको वुहान शहरमा रहेका नेपाली विद्यार्थीहरुसँगै सबै नेपालीलाई तत्काल उद्धार गरेर देश ल्याउन यो बैठक सरकार समक्ष माग गरेको छ । उद्धारमा हुने ढिलाइले बढ्न सक्ने संक्रमणको जोखिम र त्यसले भोलि नेपालमा पर्न सक्ने गम्भीर असर बारे बैठक सरकारलाई सजग गराउदै कांग्रेसले देश फर्काएर राख्ने ‘क्वारेन्टाइन’ लाई सम्पूर्ण रुपले व्यवस्थित र सुरक्षित ढंगले प्रबन्ध गर्न पनि बैठक सरकारलाई विशेष अनुरोध गरेको छ ।

कांग्रेसको केन्द्रीय समितिको बैठकले नेपाल सरकारका पूर्व सचिव अर्जुन कार्कीको श्रीमती मुना कार्कीको राजधानीमा दिन दहादै भएको हत्याको घटनालाई गम्भीरतापूर्वक लिदै समाजमा बढ्दो हिंसा र असुरक्षाले शान्ति सुरक्षाको नाजुक अवस्था प्रदर्शन गरेको जनाउदै घटनाको गहिरो अनुसन्धान र दोषी माथि कार्वाहीको माग गरेको छ ।

कांग्रेसले अछाम पञ्चदेवल विनायक नगरपालिका वडा नं.२ का नेपाली कांग्रेसको तर्फबाट निर्वाचित वडा अध्यक्ष पदमबहादुर धामीको गत माघ २० गते भएको हत्याको गहिरो अनुसन्धान गरी दोषीलाई आवश्यक कारवाही गर्न माग गरेको छ ।

केन्द्रीय कार्यसमितिको बैठक २०७६ माघ २९ गते २ बजे पुनः बस्नेछ ।

Share Now

Leave a comment.