कीर्तिपुर(काठमाडौं), २९ माघ । विश्वकप क्रिकेट लिग २ अन्तरगत राजधानी काठमाडौंमा भैरहेको नेपाल,ओमान र संयुक्त राज्य अमेरिकाबीचको त्रिकोणात्मक क्रिकेट श्रृखलाको अन्तिम खेलमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको छ ।
बुधबार भएको खेलमा नेपालले अमेरिकालाई ३५ रनमा अलआउट गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान कायम गरेको छ।
नेपाली बलरहरु सन्दीप लामिछानेले ६ र सुसन भारीले ४ विकेट लिएपछि कीर्तिपुर मैदानमा आयोजित विश्वकप क्रिकेट लीग २ को अन्तिम खेलमा अमेरिका न्यूनतम् रनमा समेटिएको हो।
श्रीलङ्काले सन् २००४ मा जिम्बाब्वेलाई ३५ रनमा सीमिति पारेर बनाएको कीर्तिमानको नेपालले बराबरी गरेको हो।
तर जिम्बाबेले १८ ओभर खेलेको थियो भने अमेरिकालाई नेपालले १२ ओभरमै अल आउट गरेको थियो ।
यो सबैभन्दा कम बलमा विपक्षी टोलीलाई आउट गरेको नयाँ कीर्तिमान हो।
यसअघि यो कीर्तिमान अफगानिस्तानले सन् २०१७ मा जिम्बाबेलाई १३.५ ओभरमा ५४ रनमा अलआउट गरेर बनाएको थियो।
आजको खेलमा नेपाली खेलाडी सन्दीप लामिछानेको लामिछानेले ६ ओभर बलिङ गर्दै १६ रन दिएर ६ विकेट लिए। यो नेपाली खेलाडीको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा राम्रो बलिङ हो।
त्यस्तै सुशन भारीले ३ ओभरमा ५ रन दिँदै ४ विकेट लिए जुन नेपाली खेलाडीको तेस्रो राम्रो बलिङ हो।
अमेरिकाका लागि ओपनर जाभियर मार्शलले १६ रन बनाए भने अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।
यसअघि भएको अमेरिकासंगको पहिलो खेलमा पनि नेपालले अमेरिकालाई हराएको थियो।
सो खेलमा समेत नेपाली खेलाडी कुशल मल्लले सबैभन्दा कान्छो उमेरमा अर्धशतक प्रहार गर्ने कीर्तिमान कायम गरेका थिए ।
तर ओमानसँग भएका दुई खेलमा पराजित भएको थियो।
नेपालको ब्याटिड.
त्रिकोणीय श्रृखलाको सुखद् अन्त्य गर्दै अमेरिकाले दिएको ३६ रनको लक्ष्य नेपालले ५.२ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो ।
नेपालका लागि पूर्व कप्तान पारस खड्काले २० ,दीपेन्द्रसिंह ऐरीले १५ र कप्तान ज्ञानेन्द्र मल्लले १ रनको योगदान गरे ।
नेपाललाई रोक्ने क्रममा अमेरिकाका नोस्थुस केञ्जिगेले २ विकेट लिएका थिए ।