काठमाडौं, २ माघ ३ । नेपाली चेली अरुणा गुरुङ हङकङको उच्च सरकारी निकाय महिला आयोगको सदस्यमा नियुक्त भएकी छन् ।
हङकङ सरकारको प्रमुख (प्रमुख कार्यकारी) सि वाई ल्योङले गुरुङलाई सोमबार महिला आयोगको सदस्यमा नियुक्त गरेका हुन् । २१ सदस्यी महिला आयोगमा अरुणा एक्ली विदेशी नागरिक हुन् ।
उनी २००६ देखि २०१२ सम्म हङकङ सरकारकै जातिय सद्भाव प्रवद्धन समितिको पनि सदस्य थिईन । उनी २०१२ मा हङकङ सरकार प्रमुख ल्योङबाट ‘चिफ एक्जुकेटिभ कमेन्डेशन अवर्ड’बाट सम्मानित भएकी थिईन । यो अवार्ड हङकङ सरकारले दिने उच्च सम्मान हो । उनले हङकङमा बसेर त्यहाँको सामाजिक कार्यमा गरेको योगदानको कदर गर्दै उक्त सम्मान पाएकी हुन् ।
झण्डै तीन दशदेखि हङकङ बस्दै आएकी करुणा क्याथिया ड्रागन एयरलाईन्स कि ‘इन फ्लाईट सर्भिस म्यानेजर’ पनि हुन् । उनी हङकङबाट प्रकाशित हुने ‘नेपाल पोष्ट ओभरर्सिज’ पत्रिकाकी प्रकाशक पनि छन् ।
हङकङको गोरखा हाईस्कुलमा अध्ययन गरेकी अरुणाले त्यसपछि पोखराको पृथ्वी नारायण र काठमाडौंको पद्म कन्या क्याम्पसबाट स्नातक अध्ययन गरेकी छन् ।
खेलुकदमा पनि रुची राख्ने उनले विरगंजमा भएको तेस्रो राष्ट्रिय खेलकुदमा ५ हजार मिटर दौडमा कास्य पदक समेत जितेकी थिईन ।