काठमाडौं, ५ फागुन । पूर्वसभामुख कृष्णबहादुर महराले जवरजस्ती करणी मुद्दामा सफाइ पाउनुभएको छ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बरराज पौडेलको इजलासले उहाँलाई सफाइ दिएको हो।
जिल्ला अदालत काठमाडौंमा आइतवारै दुवै पक्षको बहस सकिएको थियो। तर फैसलाका लागि समय अपुग भएको भन्दै महराविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो।
अधिवक्ताहरू लवप्रसाद मैनाली, रमणकुमार श्रेष्ठ, शेरबहादुर केसी, डा. भीमार्जून आचार्य र सबिता भण्डारी बरालले सो अभियोगमा महराको संलग्नतामा पर्याप्त प्रमाण नपुगेको भन्दै बहस गर्नुभएको थियो । त्यसैगरि अधिवक्ताहरू सुशील सापकोटा, मुरारी सापकोटा, डा. दिनमणि पोखरेलले पनि महराको पक्षबाट बहस गर्नुभएको थियो ।
यसअघि जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले तत्काल प्राप्त प्रमाणका आधारमा महरालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।
संसद सचिवालयमा कार्यरत रोशनी शाहीमाथि यौनदूराचार दुस्प्रयासको अभियोगमा महरा पुर्पक्षका लागि उहाँलाई डिल्लीबजार कारागारमा राखिएको थियो।
संसद सचिवालयमा कार्यरत रोशनी शाहीमाथि असोज १२ गते जबरजस्ती करणीको प्रयास गरेको अभियोगमा गत असोज १९ गते पक्राउ महरालाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाएको थियो।
जिल्ला अदालतले थुनामा पएपछि महराले उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए। तर, उच्च अदालतले जिल्ला अदालतकै आदेशलाई सदर गरेको थियो ।