काठमाडौं, ११ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका गलत क्रियाकलापको विरोध र छानवीन गरी भ्रष्ट सरकारलाई जनताको बीचमा नग्याउन संसदमा प्रतिनिधित्व गर्ने सरकारमा नरहेका दलहरुसंग मोर्चाबन्दी गर्ने भएको छ ।
नेपाली कांग्रेसको संसदीय दलले निर्माण गरेको छाया मन्त्रिमण्डलको आइतबार बसेको पहिलो बैठकले सो निर्णय गरेको हो। कांग्रेसले सरकारमाथि निगरानी बढाउन र संसदमा प्रस्तुत हुने विधेयकहरु सहितका प्रस्तावहरुमा जनहितलाई केन्द्रमा राखेर निर्णय गर्ने अवस्था सिर्जना गर्नका लागि छाया सरकारको गठन गरेको थियो ।
आइतबारको बैठकले वर्तमानमा सतहमा देखिएका घटनाक्रम तिनको विकासक्रमका बारेमा समीक्षा गरेको थियो । नेपाली कांग्रेसका राष्ट्रिय सभाका सांसद तथा सचेतक सुरेन्द्र पाण्डेले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटा मात्रै नभएर अन्य मन्त्रालयमा नीतिगत भ्रष्टाचारका विषयमा पनि अध्ययन गर्न सम्बन्धित मन्त्रालय हेर्ने छाया मन्त्रीहरुलाई निर्देशन दिइएको बताउनुभयो ।
उहाँले संबन्धित छाया मन्त्रीहरुलाई आफूले हेरेको मन्त्रालयलाई गहिरिएर अध्ययन गर्नुपर्ने र त्यहाँ भएका काण्डहरु रोक्न र जनता समक्ष लिएर आउन अझ गहिरो अध्ययन गरी प्रतिवेदन बुझाउन पनि निर्देशन दिइएको बताउनुभयो ।
नेपाली कांग्रेसले मन्त्रालयहरुमा हुने नीतिगत भ्रष्टाचारका सम्बन्धमा प्रधानमन्त्रीसमेत जानकार रहेको विषयमा अलग्गै छानबिन गर्ने पनि निर्णय समेत गरेको छ।
पाण्डले संसदका अन्य दलहरुसँग १३ गते बस्ने संसद बैठकबारे छलफल हुने जानकारी दिंदै बाँस्कोटा प्रकरण र अन्य भ्रष्टाचारका विषयहरुलाई सरकार बाहिरका दलहरुले सामूहिक रुपमा अगाडि बढाउन छलफलका लागि सोमबार बैठक डाकिएको बताउनुभएको छ ।
नेपाली कांग्रेसका सभापति तथा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले अध्यक्षतामा बसेको सो बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा समेत छलफल गरेको छ ।