Prakash Adhikari February 27, 2020

 

नयाँदिल्ली(भारत), १५ फागुन । कोरोना भाइरस संक्रमित यात्रु भेटिएपछि क्वारेन्टाइनमा राखिएको जापानी पानी जहाज डायमण्ड प्रिन्सेस क्रुजमा रहेका आफ्नो देशका सबै यात्रु, एक नेपाली र अन्य इच्छुक विदेशी गरी १ सय २४ यात्रुको उद्धार गरेको छ ।

भारत सरकारले बुधबार क्रोरोना भाइरस संक्रमण फैलिएको क्रुज जहाजमा रहेका आफ्ना नागरिकहरुको उद्धारका लागि एअर इण्डियाको विशेष विमान जापान पठाएको थियो ।

उक्त जहाज १ सय २४ यात्रु लिएर बिहीबार बिहान दिल्लीको इन्दिरा गान्धी विमानस्थलमा ओर्लेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उद्धार गरिएका यात्रुहरुमध्ये १ सय १९ जना भारतीय र पाँच जना विदेशी नागरिक छन् । उद्धार गरिएका पाँच जनामध्ये दुई जना श्रीलंकाली तथा नेपाल, दक्षिण अफ्रिका र पेरुका एक–एक जना रहेका छन् ।

‘डायमन्ड प्रिन्सेस जहाजबाट उद्धार गरिएका १ सय १९ जना भारतीयका साथै श्रीलंका, नेपाल, दक्षिण अफ्रिका र पेरुका पाँच जना लिएर टोकियोबाट उडेको एअर इण्डियाको विमान दिल्लीमा अवतरण गरेको छ,’ भारतीय विदेशमन्त्री एस जयशंकरले भारतीय समयअनुसार बिहान करिब पाँच बजे ट्वीटमा उल्लेख गर्नुभएको थियो ।

दिल्लीस्थित नेपाली दूतावासले एक जना नेपाली नागरिकको उद्धार गरिएको पुष्टि गरेको छ । दूतावासका प्रवक्ता हरि ओडारीले भारतको विदेश मन्त्रालयले टोकियोबाट उद्धार गरिएकामध्ये एक जना नेपाली नागरिक भएको जानकारी गराएको बताउनुभयो । ‘हामीलाई एक जना नेपाली नागरिक रहेको जानकारी आएको छ,’ प्रवक्ता ओडारीले भन्नुभयो ।

उद्धार गरिएका ती नेपालीको परिचय भने खुलेको छैन तर उहाँलाई दिल्ली छेउको हरियाणाको मानेसरस्थित सैनिक क्याम्पमा १४ दिनको क्वारेन्टाइनमा राखिने जनाइएको छ ।

स्रोतका अनुसार भारतीय पक्षले पानीजहाजमा रहेका अन्य देशका नागरिकहरुले यदि चौध दिनको क्वारेन्टाइन अनिवार्य रुपमा बस्न तयार हुन्छन् भने उद्धार गर्ने प्रस्ताव राखेको थियो । जहाजमा रहेका एक जना नेपाली यात्रुले त्यसमा सहमति जनाए । त्यसपछि अन्य यात्रुसहित उनलाई पनि उद्धार गरेर दिल्ली ल्याइपुर्‍याइएको हो । तर, जहाजमा अरु कति नेपाली यात्रु छन् भन्ने चाहिँ खुलेको छैन ।

४ फेब्रुअरीमा पहिलो पटक उक्त जहाजमा रहेका १० जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो । तर, समयमै ती संक्रमितहरुको उद्धार नहुँदा जहाजमा यात्रा गरिरहेका ३ हजार ७ सय यात्रुमध्ये ७ सयमा कोरोनाको संक्रमण देखिएको जनाइएको । यस्तै ती मध्ये ४ जनाको मृत्यु भइसकेको छ ।

अमेरिकाले जहाजमा रहेका आफ्ना नागरिकहरुलाई यसअघि नै उद्धार गरिसकेको थियो ।

Share Now

Leave a comment.