काठमाडौं, १६ फागुन । लिवर्टी ईनर्जी कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्र र जिल्लाका बासिन्दाहरुका लागि १५ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ।
कम्पनीले फागुन २७ गतेदेखि सो शेयर निष्काशन गर्ने जनाएको छ।
कम्पनीले आयोजनाको अति प्रभावित क्षेत्र (निर्माण स्थल)लमजुङ्ग जिल्लाको दोर्दी गाँउपालिकाको वडा नं. ६ र ७ मा स्थायी बसोबास गर्ने स्थानीय बासिन्दाहरुमा ५ लाख कित्ता र दोर्दी गाँउपालिकाका बाँकी वडा र बेशिसहर नगरपालिकाको वडा नं. ११ का स्थानीयलाई ५ लाख कित्ता र ती क्षेत्रबाहेकका लमजुङ्ग जिल्लाका बासिन्दाहरुका लागि ५ लाख कित्ता शेयर निष्काशन गर्नेछ।
प्रतिकित्ता १०० अंकित दरका लिवर्टीका शेयरमा आवेदकहरुले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा चैत ११ गते बन्द हुनेछ भने ढिलोमा चैत २६ गते बन्द हुनेछ।
कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई रेटिङ्ग एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईपीओ ग्रेड ४’ रेटिङ्ग प्राप्त गरेको छ। यसले कम्पनीको आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको संकेत गर्दछ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।
कम्पनीको निर्माण अवधिको ब्याजसहित प्रति मेगावाट लागत १८ करोड ५४ लाख ४३ हजार ८३७ रुपैयाँ रहेको छ। त्यसैगरी, कम्पनीको कुल अनुमानित लागत ४ अर्ब ६३ करोड ६० लाख ९५ हजार ९ सय २१ रुपैयाँ ७२ पैसा रहेको छ।
कम्पनीको विद्युत उत्पादन अनुमतिपत्र बहाल रहने अवधि ३० वर्ष रहेको छ।








