बैंकक(थाइल्याण्ड), १७ फागुन । एसीसी इस्टर्न रिजन टी २० क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल मलेसियासंग पराजित हुँदा पनि नेपाली क्रिकेटका तारा सन्दीप लामिछानेले एक शतक ओभरको कीर्तिमान कायम गरेका छन् ।
नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले टी २० क्रिकेटमा १०० विकेट पूरा गरेका छन् । एसीसी इस्टर्न रिजन टी २० मा मलेसियाविरुद्ध पहिलो विकेट लिएसँगै सन्दीपले टी २०मा १०० विकेट पूरा गरेका हुन् ।
पहिलो विकेटको रुपमा आईपीएलमा पार्थिव पटेललाई आउट गर्दै विकेटको सुरुआत गरेका सन्दीपले १०० औं विकेट मलेसियाका विरेन्दरसिंहलाई आउट गरर नयाँ कीर्तिमान कायम गरेका थिए ।
सन्दीपले विगब्यासको यो सिजनमा १५ विकेट लिएका थिए । काठमाडौंमै भएको नेपाल ओमान र अमेरिकाबीचको एक दिवसीय सिरिजका लागि अष्ट्रेलियाको विग ब्यास लिग बीचमै छाडेर आएका सन्दीपले त्यतिबेला ९९ विकेट पूरा गरेका थिए ।
यस्तो छ सन्दिपको बलिङ
- २०१८ इन्डियन प्रिमियर लिग (आईपीएल) ३ खेल ५ विकेट
- २०१८ क्यारेबिन प्रिमियर लिग ५ खेल ७ विकेट
- २०१८ अफगानिस्तान प्रिमियर लिग १ खेल २ विकेट
- २०१८ ग्लोबल टी २० क्यानडा ५ खेलमा ८ विकेट
- २०१८-१९ बिग ब्यास लिग ८ खेल ११ विकेट
- २०१८-१९ बङ्गलादेश प्रिमियर लिग ६ खेल ४ विकेट
- २०१९ पाकिस्तान सुपर लिग ७ खेल ११ विकेट
- २०१९ आईपीएल ६ खेल ८ विकेट
- २०१९ ग्लोबल टी २० क्यानडामा ४ विकेट
- २०१९ क्वारेबिन प्रिमियर लिग ६ खेल ८ विकेट
- २०२० ब्यास लिग ११ खेल १५विकेट
- नेपाली राष्ट्रिय टिमबाट टि(२० आईमा १८ खेल २८ विकेट)
२०१८ को आईपीएलमा छनोट भएका सन्दीपलाई दिल्ली डेयर डेभिल्स (हाल दिल्ली क्यापिटल्स) सिजनको २० लाख भारुमा अनुबन्ध गरेको थियो ।
सो आईपीएलबाटै टी २० लिगको यात्रा शुरु गरेका सन्दीपले पहिलो सिजनबाटै आफूआबद्ध टीमको प्रतिष्ठामा आँच आउन दिएनन् । पहिलो सिजनमा तीन खेलमा मात्रै मौका पाएका सन्दीपले ५ विकेट लिँदै आफ्नो र नेपालको पनि इज्जत बढाए ।
सन्दीपले २०१८ को मे १२ तारिखमा रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध डेब्यु गरेका थिए । उक्त खेलमा ४ ओभर बलिङ गर्दै २५ रन खर्चिएर पहिलो विकेट लिए । उनले आरसीबीका पार्थिब पटेलको विकेट लिएका थिए । जुन सन्दीपको पहिलो ऐतिहासिक टी २० विकेट थियो ।
दोस्रो खेलमा चेन्नाई सुपर किंग्सविरुद्ध सन्दीपले ४ ओभरमा २१ रन दिएर एक विकेट लिए । यो खेलमा सन्दीपले सुरेश रैनालाई आउट गरेका थिए ।
मुम्बई इण्डियन्सविरुद्ध उनले ३ विकेट लिँदै सनसनी मच्चाए । आफ्नो स्पेलमा ३६ रन खर्चिएर सन्दीपले सूर्य कुमार यादव, किरोन पोलार्ड र क्रुनाल पाण्डेको विकेट हात पारेका थिए ।
त्यसपछि सहयोग संकलन गर्ने उद्देश्यले आयोजना भएको विश्व ११ बाट सन्दीप खेल्ने मौका पाए । यसमा उनी विकेटविहीन रहे । त्यसले उनलाई विश्वका अन्य चर्चित लिगमा खेल्ने प्लेटफर्म प्रदान गर्यो । २०१८मा नै क्यारेवियन प्रिमियर लिगमा उनले सेन्ट किट्स एण्ड नेभिस पेट्रियोट्सबाट खेल्न पाए । जसमा उनले ५ इनिङमा ७ विकेट हात पारे । उनले क्यारेवियन प्रिमियर लिगको आफ्नो पहिलो खेलमा १२ रन खर्चिएर २ विकेट हात पारे । सन्दीपले गुयना अमेजन वारिययर्सविरुद्ध विकेट लिँदा चाडविक वाल्टन र जेशन मोहम्मदलाई आउट गरेका थिए ।
दोस्रो खेलमा त्रिनबागो नाइट राइडर्स विरुद्ध ३ ओभर बलिङ गर्दै १ विकेट हात पारे । उनले एक ओभर मेडन राख्दै क्रिस लिनको विकेट लिएका थिए । जमैका टावेल्सविरुद्ध सन्दीपको नाममा २ विकेट रह्यो । उनले किनर लिविस र आन्ड्रे माकाथ्रीको विकेट लिएका थिए । सेन्ट लुकाविरुद्ध पनि सन्दीपले २ विकेट हात पारे । उनले डेभिड वार्नर र क्वीस अहमदलाई आउट गरेका थिए ।
त्यसपछि उनी अफगानिस्तान प्रिमियर लिग खेल्न आएका थिए । अफगानिस्तान प्रिमियर लिगमा १ इनिङमा मात्रै बलिङ गरेका सन्दीपले २ विकेट हात पारे ।
२०१८–१९ को विग ब्यास लिगमा उनले ८ म्याचमा ११ विकेट लिए । सोही बर्ष बंगलादेश प्रिमियर लिग क्रिकेटमा सन्दीपले ६ खेलमा ४ विकेट हात पारेका थिए । पाकिस्तान सुपर लिग क्रिकेटमा उनले ७ खेलमा ११ विकेट लिएका थिए ।
आईपीएलको उनको आफ्नो दोस्रो सिजनमा दिल्लीबाटै खेलेका थिए । र अहिले पनि सोही यात्रालाई निरन्तरता दिँदै छन् । आईपीएलमा दोस्रो सिजमा उनी ६ खेलमा सहभागी भए । जसमा उनले ८ विकेट लिएका थिए । क्यारेवियन प्रिमियर लिगमा पनि सहभागी भएका सन्दीपले ११ विकेट लिए । जारी विग ब्यासमा अहिलेसम्म १६ विकेट लिएका सन्दीपले नेपाली राष्ट्रिय टिमले खेलेका टी २० मा २८ विकेट हात पारेका छन् ।