Prakash Adhikari March 1, 2020

काठमाडौं, १८ फागुन । मृगौला रोगबाट पीडित प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार त्रिवि शिक्षण अस्पताल भर्ना हुनुहुने भएको छ ।

आइतबार बिहान बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य उपचारबारे जानकारी गराउनुभएको थियो ।

बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री मृगौला प्रत्यारोपणका लागि भोलि नै अस्पताल भर्ना हुनुहुने र ‘बुधबार प्रत्यारोपण गरिने जानकारी दिनुभएको थियो ।

गएको साउन महिनादेखि मिर्गौलाले काम गर्न छोडेपछि प्रधानमन्त्री ओली मृगौलाको सघन उपचारमा हुनुहुन्छ । साउनमा मृगौलाको परीक्षणका लागि सिंगापुर नेशनल अस्पतालमा भर्ना हुनुभएका ओलीको भदौमा प्लाज्मा फेरोसिस विधिबाट ४ हप्ता लगाएर त्यही स्वास्थ्योपचार गरिएको थियो । त्यसपछि काठमाडौंको ग्राण्डि र त्रिभुवन विश्वविद्यालयको मनमोहन कार्डियो भास्कुलर थोरासिस एण्ड ट्रान्स्प्लान्ट सेन्टरमा उहाँको स्वास्थ्योपचार र डायलाइसिस हुँदै आएको छ ।

प्रधानमन्त्री ओलीको १२ वर्ष अगाडि भारतमा मिर्गौला प्रत्यारोपण भएको थियो ।

बुधबार मिर्गौला प्रत्यरोपणको तयारीमा जुटेको उहाँको मेडिकल टिमले मृगौलाका दाताहरुको मृगौलाको जाँच पनि गरिसकेको छ । प्रधानमन्त्री ओलीलाई मिर्गौला दिन उहाँका आफन्त नै तयार भएका छन् । नातामा भाञ्‍जी पर्ने एक महिला र अमेरिकामा रहेका भाञ्‍जा नाता पर्ने एक पुरुष प्रधानमन्त्रीलाई आफ्नो मृगौला दिन तयार छन् ।

चिकित्सकहरुले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेमा कम्तीमा १० वर्षका लागि समस्या नपर्ने दावी गरिएको बताइए पनि सिंगापुरको नेशनल मेडिकल अस्पतालले भने प्लाज्मा फेरोसिसपछिको ३ महिनापछिको उहाँको स्वास्थ्यको कुनै ग्यारेन्टी हुन नसक्ने भएकोले दोस्रो प्रत्यारोपण भन्दा डायलासिस नै उपयुक्त हुने सुझाव दिएको बताइन्छ ।

Share Now

Leave a comment.