काठमाडौैं, १९ फागुन । राष्ट्रिय योजना आयोगको आजको बैठकले नेपाललाई अल्पविकसित राष्ट्रबाट मध्यम आयस्तर भएको मुलुकमा परिणत गर्न महत्वपूर्ण निर्णय गर्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने आयोगको १५औं बैठकले समृद्धिका ४ र सुखका ६ सूचकको परिभाषा गर्दै त्यो प्राप्तिका लागि नीतिगत निर्णय गर्नेछ। दिगो आर्थिक विकासमा जोड दिँदै यो बैठकले योजना पास गर्नेछ।
मिर्गौला प्रत्यारोपणका लागि सोमबार त्रिवि शिक्षण अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल र सुखी नेपालीका लागि यो निर्णय गर्न लाग्नुभएको हो।
राष्ट्रिय योजना आयोगको आज बस्ने १५ औं पूर्ण बैठकको अध्यक्षता प्रधानमन्त्री केपी ओलीले गर्नुहुनेछ भने आयोगको पूर्ण बैठकमा राष्ट्रिय योजना आयोगको टिम, अर्थमन्त्री, मुख्य सचिव, अर्थ सचिवलगायत ८ सदस्य रहेका छन्।


















