Prakash Adhikari March 2, 2020

 

सानेपा (ललितपुर), १९ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका सात वटा विभागमा प्रमुख मनोनित गर्नुभएको छ।

नेपाली कांग्रेसका प्रमुख सचिव कृष्णप्रसाद पौडेलद्धारा प्रकाशित विज्ञप्तिमा जनाइए अनुसार सभापति देउवाले एनपी साउदलाई शुभेच्छुक संस्था समन्वय विभाग,अम्बिका बस्नेतलाई वन, वातावरण तथा विपत व्यवस्थापन विभाग, ईश्वरी न्यौपानेलाई महिला विभाग, केशवकुमार बुढाथोकीलाई राज्य प्रशासन विभाग, मोहनबहादुर बस्नेतलाई खेलकूद विभाग, बीरबहादुर बलायरलाई निर्माण व्यवसायी समन्वय विभाग र हरिप्रसाद नेपाललाई शिक्षा विभाग संयोजक मनोनित गर्नुभएको छ।

यस अगाडि नै गत फागुन १७ गते शनिवार कांग्रेस सभापति देउवाले गोपालमान श्रेष्ठलाई संगठन विभाग, रमेश रिजाललाई संघीय मामिला तथा प्रदेश समन्वय विभाग,फरमूल्लाह मन्सुरलाई मुस्लिम विभाग, अर्जुनप्रसाद जोशीलाई स्थानीय तह समन्वय विभाग, आनन्दप्रसाद ढुंगानालाई वित्तिय तथा सहकारी संस्था समन्वय विभाग, अजयकुमार चौरसियालाई तराई–मधेश समन्वय विभाग, महेन्द्र यादवलाई यातायात व्यवसायी समन्वय विभाग, शंकर भण्डारीलाई तरुण विभाग, सीता गुरुङ लाई आदिवासी जनजाति विभाग,गोविन्द भट्टराईलाई नेपाली जनसम्पर्क समिति समन्वय विभाग, चिनकाजी श्रेष्ठलाई उद्योग व्यापार विभाग, विश्वप्रकाश शर्मालाई (प्रवक्ता) सूचना, संचार तथा प्रचार विभाग र शिवप्रसाद हुमागाँइलाई श्रमिक तथा टे«ड युनियन विभागको प्रमुख चयन गर्नुभएको थियो ।

महाधिवेशनको मुखमा सभापति देउवाले केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा कृष्ण किशोर घिमिरे (दाङ), गोपालकुमार बस्नेत (झापा), सुधीरकुमार शिवाकोटी (झापा), मनोहर नारायण श्रेष्ठ (धनकुटा) र ध्रुब वाग्ले (तनहुँ)लाई मनोनयन गर्नु भएको थियो ।

हाल तोकिएका विभागीय प्रमुखहरुको नामावलीमा असन्तुष्ट पक्षबाट रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला,पूर्व महामन्त्री प्रकाशमान सिंह पक्षको प्रतिनिधित्व भएको देखिदैन तर श्रमिक र ट्रेड युनियन विभागका प्रमुखको जिम्मेवारी शिवप्रसाद हुँमागाईलाई दिइएकोले कांग्रेसभित्रको तेस्रो ध्रुवका नेता कृष्णप्रसाद सिटौला गुटलाई भने समेटिएको देखिन्छ ।

शनिवार पार्टीको विभागीय प्रमुख तोकिएको विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमानसिंह,पूर्वउपमहामन्त्री डा. रामशरण महत, नेताहरु अर्जुन नरसिंह के.सी. बलबहादुर केसी, मिनेन्द्र रिजाल, सुजाता कोइराला लगायतका नेताहरु उपस्थित कार्यक्रमबाट विरोध प्रस्ताव नै पारित भएको छ । सो दिन संस्थापन इतर समूहका नेताहरु पर्साको विरगञ्जमा दुई नम्बर प्रदेश स्तरीय कार्यकर्ता भेलामा सहभागी हुनुहुन्थ्यो । पौडेल पक्षले महाधिवेशनको कार्यतालिका सार्वजानिक भएको अवस्थामा विभाग गठन गरेको भन्दै विरोधमा प्रस्ताप पास गरेको थियो। कार्यक्रमको उद्घाटन शत्रका वक्ताहरुले नेपाली कांग्रेसको वर्तमान सभापतिले सरकारको विरोध गर्न नसकेको र इतिहास समेत जोगाउन नसकेको गम्भीर आरोप पनि लगाएको थिए ।

Share Now

Leave a comment.