Prakash Adhikari March 3, 2020

काठमाडौं,२० फागुन । कोरोनाभाइरस सङ्क्रमण जस्तै लक्षण देखिएर अस्पताल भर्ना गरिएका चार जना नेपालीमा कोभिड-१९ नदेखिएको स्वास्थ्य अधिकारीले बताएका छन्।

काठमाण्डूको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका उनीहरूमा कोरोनाभाइरस नदेखिएको अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले बताए।

उनले भने, “परीक्षण गरिएका चारैजनाको रिपोर्टमा कोरोनाभाइरस देखिएन।”

गत शनिवार र आइतवार अस्पतालमा भर्ना भएकामध्ये तीनजना दक्षिण कोरियाबाट र एकजना चीनबाट आएका थिए।

दक्षिण कोरियाबाट आएका थप एकजना पनि अस्पताल भर्ना भएका छन्। उनको परीक्षण भने जारी छ।

कोरोनाभाइरस सङ्क्रमण सुरू हुँदा नेपालमा परीक्षणको व्यवस्था थिएन। हाल भने नेपालमै यसको परीक्षण हुने गरेको छ।

कोरोनाभाइरस
चीनबाट उद्धार गरिएका नेपालीहरू १६ दिनको क्वारन्टीन बसाइपछि घर फर्केका छन्

एकजना नेपालीमा सुरूवाती दिनमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको र उनी उपचारपछि आफ्नो नियमित काममा फर्किसकेका छन्।

त्यसयता चीनबाट ल्याइएका १७५ जना सहित २५० जनाको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारीमा आएका ती घटनामा सुरुका एकजना बाहेक कसैमा पनि कोरोनाभाइरसको सङ्क्रमण नदेखिएको बताए।

कोरोना
नेपालमा कोरोनाभाइरसको सङ्क्रमण भित्रिन नदिन चीनसँगका नाकाबाट आवतजावत बन्द गरिएको छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आउने यात्रुहरूको ज्वरो नापेर एक सय डिग्री फारेनहाइटभन्दा माथि तापक्रम भएका यात्रुहरूलाई थप परीक्षण गर्ने व्यवस्था मिलाइएको विमानस्थल प्रशासनले जनाएको छ।

भारतबाट पर्यटक आउने नाकाहरूमा पनि स्वास्थ्य जाँचका लागि टोली परिचालन भइसकेको छ।

विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई कोरोनाभाइरसको उच्च जोखिमको सूचीमा राखेको छ।

Share Now

Leave a comment.