(वासिङ्टन) , २२ फाल्गुन(एजेन्सी) । डेमोक्रेटिक पार्टीको ‘प्राइमरी’ चुनावमा पूर्वउपराष्ट्रपति जो बाइडेनले फराकिलो अग्रता प्राप्त गरेका छन् । राष्ट्रपतिकी आकांक्षी सिनेटर एलिजाबेथ वारेनलाई आफ्नै गृहराज्य म्यासाचुसेट्समा बाइडेनले पराजित गर्दै अग्रता हासिल गरेका हुन् ।
अमेरिकी समकालीन राजनीतिमा सिनेटर बर्नी स्यान्डर्स र वारेन दुवैले समाजवादी प्रगतिशील धारको प्रतिनिधित्व गरिरहेका छन् । आगामी जुलाईमा हुने डेमोक्रेटिक पार्टीको सम्मेलनका लागि म्यासाचुसेट्स राज्यबाट ९१ जना प्रतिनिधि सहभागी हुन पाउने व्यवस्था छ । आफ्नै गृहराज्यबाट पराजित भएसँगै वारेनको चुनावी दौड समाप्त हुने अड्कलबाजी गरिएको छ ।
पूर्वउपराष्ट्रपति बाइडेनले मंगलबार १४ वटा राज्यमा सम्पन्न चुनावमध्ये ८ वटामा विजयी हासिल गरिसकेका छन् । डेमोक्रेटिक पार्टीको अन्तिम सम्मेलनबाट चुनिने व्यक्तिले अमेरिकी राष्ट्रपतिको आगामी नोभेम्बरमा हुने चुनावमा पार्टीका तर्फबाट प्रतिस्पर्धा गर्न पाउने छन् । अर्का प्रतिस्पर्धी स्यान्डर्सले भने तीनवटा राज्यमा मात्र विजय हासिल गरेका छन् ।
पछिल्लो मतपरिणामअनुसार बाइडेनले म्यासाचुसेट्ससहित अलाबामा, अर्कान्सा, मिनेसोटा, ओक्लाहोमा, नर्थ क्यारोलिना, टेनेसी र भर्जिनिया तथा स्यान्डर्सले भर्मन्ट, कोलोराडो र उटाहामा विजयी भए । सन् २०१६ मा सम्पन्न ‘प्राइमरी’ चुनावमा स्यान्डर्सले हिलारी क्लिन्टनलाई मिनेसोटा र ओक्लाहोमामा परास्त गरेका थिए । तर यसपटक उनी यी दुई राज्यमा पराजित भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । तेलको धनी राज्य क्यालिफोर्निया र टेक्सासको चुनावी नतिजा आउन बाँकी छ । यी राज्यमा स्यान्डर्सको उपस्थिति बलियो रहेको मानिन्छ ।
मंगलबारको यस प्राइमरीमा कूल १ हजार ३ सय ५७ जना पार्टी प्रतिनिधिले मतदान गरेका थिए । देशका कूल पार्टी प्रतिनिधिमध्ये यो संख्या करिब एकतिहाइ हो । पूर्वउपराष्ट्रपति बाइडेनलाई डेमोक्रेटिक पार्टीका वरिष्ठ नेताले समर्थन जनाएका छन् । उनलाई चुनावी प्रतिस्पर्धामा रहेका एमी क्लोबुचार र पिट बुटिजिजले पनि समर्थन गरेका छन् । दुवैले चुनावी प्रतिस्पर्धाबाट हटेका छन् ।
धेरैवटा राज्यमा चुनावी नतिजा आफ्नो पक्षमा पार्न नसकेका कारण स्यान्डर्सको उम्मेदवारीमाथि प्रश्नचिह्न लागेको छ । तर उनले क्यालिफोर्नियामा आफ्ना उत्साही समर्थकलाई सम्बोधन गर्दै अमेरिकाको इतिहासमा सर्वाधिक खतरा ठानिएका ट्रम्पलाई हराउन आफूमात्र सक्षम रहेको दाबी गरे । ‘पुरानै शैली, व्यवहार र एजेन्डाका आधारमा ट्रम्पलाई हराउन सकिन्न भन्ने कुरा सबैले बुझ्नुपर्छ,’ स्यान्डर्सले भने ।
लस एन्जलसमा समर्थकलाई सम्बोधन गर्दै बाइडेनले आफ्नो चुनावी यात्रा निकै जीवन्त रहेको प्रतिक्रिया दिएका छन् । ‘कुनै गल्ती नगरौं, अबको चुनावबाट डोनाल्ड ट्रम्प बिदा भएरै छाड्नेछन्,’ उनले भने । राष्ट्रपतिको उम्मेदवार हुन चाहने मुख्य चारै जना प्रतिस्पर्धी – बाइडेन, स्यान्डर्स, एलिजाबेथ वारेन र माइकल ब्लुमबर्गले क्यालिफोर्नियाको चुनावी नतिजा पर्खिरहेका छन् । अर्बपति व्यापारी एवं न्युयोर्कका पूर्वमेयर माइकल ब्लुमबर्गले चुनावका लागि करोडौं डलर खर्च गरे पनि उनी समोआ द्वीपबाहेक कुनै पनि स्थानमा विजयी प्राप्त गर्न सकेनन् ।
चुनावी नतिजा टेलिभिजनमा हेरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक पार्टीका उम्मेदवारप्रति विगतमा झैं व्यंग्यपूर्ण ट्वीट गरेका छन् । यसको प्रत्युत्तरमा बाइडेनले ‘नोभेम्बरमा भेटौंला, हामी तपाईंलाई अवश्य हराउने छौं’ भन्दै ट्वीट गरेका छन् ।