बैंकक(थाईल्याण्ड),२३ फागुन। थाइल्याण्डमा भइरहेको एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगितामा नेपाल र सिंगापुरबीचको खेल बर्षाको कारण रद्ध भएको छ ।
वर्षाका कारण भिजेको मैदान र पिच समयमा खेल्न योग्य नभएपछि खेल टस नै नभई रद्ध भएको हो ।
निर्धारित समय तालिका अनुसार शुक्रबार बिहान बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा स्थानीय समय बिहान साढे ९ बजे खेल शुरु हुने कार्यक्रम थियो । तर बर्षाले भिजेको पिच साढे २ घण्टाको प्रतीक्षा पछि पनि खेल्नलायक बन्न सकेन र टस नै नगरिकन एम्पाएरले खेल रद्ध भएको घोषणा गरे ।
प्रतियोगितामा सिंगापुरले यसअघि नै लगातार तीन खेल जितेर शीर्ष दुईमा स्थान पक्का गरिसकेको छ तर एसिया कपमा सहभागी भएर उपाधि उचाल्ने आकांक्षा पालेको नेपाल पहिलो खेलमा मलेशियासंग पराजित भएदेखि नै पछाडि पर्यो र हंगकंगसंगको दोस्रो खेल हारेपछि फाइनल पुग्ने आशामा तुषरापात भएको नेपाली टोली आयोजक राष्ट्र थाइल्याण्डलाई मात्र जितेर इज्जत जोगाउदै फर्कने अवस्थामा पुगेको छ ।
प्रतियोगिता अन्तरगत आजै मलेसिया र हङकङबीच अर्को खेल हुँदैछ । उक्त खेलको विजता पनि एसिया कप क्वालिफायरमा छनोट हुनेछ ।