Prakash Adhikari March 8, 2020

 

 

जियाड.सी(चीन), २५ फागुन(बीबीसी) । एउटा चिनियाँ सुरक्षा जाँचस्थलमा एक क्यान्सर बिरामीलाई सुरक्षाकर्मीहरूले रोकिरहँदा उनकी आमा रुँदै गरेको तस्वीर विश्वभरि चर्चित बन्यो। तर त्यसअघि के भएको थियो र पछि के भयो?

एउटा हातमा लु युजिनले बाल्टिन र लुगाहरू भएको झोला बोकेकी थिइन् भने अर्को हातले ओढ्ने लुगाले बेरिएकी आफ्नी बिरामी छोरीलाई समाएकी थिइन्।

शरीरलाई न्यायो राख्न हु पिङले सिरकजस्तो लुगा ओढ्नुपरेको थियोः उनलाई रक्तक्यान्सर भएको छ।

तर सबैभन्दा महत्त्वपूर्ण कुरा उनले आफ्नो घर भएको हुबे प्रान्त छाड्नुपर्ने थियो।

छब्बीस वर्षीया हुले हुबेको राजधानी वुहानमा गत ज्यानुअरीमा केमोथेरापी शुरू गराएकी थिइन्।

तर गत डिसेम्बर महिनामा वुहानबाटै नयाँ कोरोनाभाइरसको प्रकोप शुरू भएपछि त्यहाँका अस्पतालहरू बिरामीले भरिन थाले।

ज्यानुअरी २८ तारिखमा अस्पतालले ठाउँ नभएको भन्यो जसका कारण उनी अन्यत्र जानुपर्ने भयो।

उनको परिवारले हुबेमा दशवटा अस्पताल चहार्‍यो तर उनलाई राख्न कहीँ पनि शय्या पाइएन।

आमा र छोरी
हु पिङ प्रान्तीय सिमानानजिकै बस्ने भएकोले उनकी आमाले जियाङ्सी प्रान्त जाने प्रयत्न गरिन्।

तर याङ्त्सी नदीको पुलमा आफूहरू फसेको उनीहरूले महसुस गरे। वुहानलाई ज्यानुअरी २३ तारिखदेखि क्वारन्टीनमा राखिएको थियो र त्यसपछि हुबेभरि त्यस्तै गरियो।

चिकित्सकीय कारणले बाहिर जान सम्भव थियो तर हु पिङसँग आवश्यक अनुमतिपत्र थिएन। उनीहरू पुल कट्न पाएनन्।

त्यो खबर सुनेपछि लु युजिन रुन थालिन्। “मलाई पर्दैन। कृपया मेरी छोरीलाई चाहिँ जान दिनुहोस्,” उनले भनिन्।

नजिकै रोयटर्स समाचार संस्थाका पत्रकारद्वय मार्टिन पोलर्ड र थोमस पिटर थिए।

पत्रकारद्वयलाई उनले भनिन्, “मेरी छोरी सीमावर्ती शहर जिओजियाङस्थित अस्पताल जानुपर्ने छ। उनको उपचार गराउनुपर्ने छ तर सुरक्षाकर्मीले जान दिइरहेका छैनन्।”

लु युजिनको कुरा सकिनासाथ लाउडस्पीकरबाट सन्देश बज्योः हुबेका बासिन्दाहरूलाई जिओजियाङ छिर्न अनुमति छैन।

उनले भनिन्, “मैले मेरी छोरीको ज्यान बचाउन मात्र चाहिरहेकी छु।”

एम्बुलेन्स
लु युजिनले याचना गरिरहँदा र लाउडस्पीकरमा सन्देश बजिरहँदा हु पिङ भुइँमा बसिन्।

त्यसको एक घण्टापछि त्यहाँ एउटा एम्बुलेन्स आइपुग्यो र उनीहरूलाई भित्र जान अनुमति दिइयो।

पोलर्ड र पिटरले समाचार लेखे अनि द जापान टाइम्स र द गल्फ न्यूजसहित सारा संसारले लु युजिनको आँसुलाई हेर्‍यो। तर त्यसपछि के भयो भन्नेबारे अहिलेसम्म ज्ञात छैन।

रोयटर्सको समाचार हेरेपछि बीबीसीले हु पिङको परिवारबारे पत्ता लगायो र उनको हुनेवाला श्रीमान् सी सिआओदीसँग कुरा गर्‍यो। नाकामा के भयो भन्नेबारे सीले बताए।

“प्रहरीलाई हारगुहार गर्दै मेरी हुनेवाला सासुआमा निकै बेर रुनुभयो,” सीले भने।

“प्रहरीले विस्तृतमा कारण सोधे र क्यान्सरकी बिरामी हु पिङलाई उपचारको आवश्यकता रहेको थाहा पाए।”

“त्यसपछि प्रहरीले आफ्ना हाकिमलाई सोधे। प्रहरीका हाकिमले कुरा राम्रोसँग बुझे र एम्बुलेन्स बोलाए,” सीले थपे।

हु पिङलाई जिओजियाङ विश्वविद्यालयको द थर्ड पिपल्स हस्पिटल लगियो। अन्ततः उनलाई त्यहाँ भर्ना गरियो।

“उनले अहिले राम्रो उपचार पाइरहेकी छन्। उनी युवा अवस्थामै भएकोले पनि निकै सुधार भइरहेको छ,”सीले भने।

सी र हु
सी र हु
यो जोडी सम्पन्न छैन र चीनमा क्यान्सरको उपचार महँगो पर्न सक्छ (सामान्यतया स्वास्थ्य बीमाले सबै खर्च बेहोर्दैन)।

“दुलहीलाई रक्तक्यान्सर भएको देखियो हामीले हिम्मत हार्ने छैनौँ” हु पिङको उपचार चलिरहँदा सीले यही भन्दै एउटा भिडिओ बनाए।

त्यसपछि उनीहरूले दशौँ हजार युआन सहयोग पाए। “धेरै मानिसले हामीलाई सहयोग गरे,” सीले भने। तर त्यो पर्याप्त नभएको उनी बताउँछन्।

आफूले हालसम्म बचत गरेको एक लाख युआन सीले आफ्नी भावी श्रीमतीको उपचारमा खर्चिसके।

“उनको परिवारसँग आर्यआजनको कुनै स्रोत छैन। उनका अभिभावक किसान हुन् र बाहिर काम गर्न जान सक्दैनन्,”सीले भने।

तर सी चिनियाँ सरकार र यसअघि आफ्नी भावी श्रीमतीलाई फर्काइदिएका अस्पतालहरूलाई लिएर आलोचना गर्दैनन्।

“अस्पताल, चिकित्सक, नर्स र मेरा धेरै सहपाठीहरूले निरन्तर सघाए। उनीहरूले निकै मेहनत गरे,”सी भन्छन्।

सीमावर्ती शहरको अस्पतालमा शय्या पाउन सकेकोमा उनी हु पिङलाई भाग्यमानी ठान्छन्।

“उपचार नपाएरै एक दुईजना बिरामीको मृत्यु भएको समाचार मैले सुनेको थिएँ।”

अस्पतालमा हु
राम्रो उपचार पाएर पनि हु पूर्ण रूपमा निको हुन कम्तीमा दुई वा तीन वर्ष लाग्न सक्ने सीको विश्वास छ।

आठ वर्षअघि उनीहरूले एकअर्कालाई विश्वविद्यालयमा भेटेका थिए जहाँ उनीहरू एउटै तहमा अध्ययनरत थिए। तीन वर्षदेखि उनीहरू सँगै छन्।

गत ज्यानुअरीमा उनीहरूको बिहे हुने तय भएको थियो। तर हुलाई क्यान्सर भएको थाहा भएपछि र चीन कोरोनाभाइरसको चपेटामा परेपछि त्यो पूरा हुन सकेन।

तर सीका अनुसार वैवाहिक कार्यक्रम स्थगित भएको हो, रद्द भएको होइन।

“सबै कुरा ठीक हुनेमा हामीलाई आत्मविश्वास छ। उनी निको भएपछि हाम्रो बिहे हुनेछ,”सीले जोड दिए।

बिहेमा शायद सबैभन्दा बढी गर्व महसुस गर्ने सहभागी व्यक्ति दुलहीकी आमा हुनेछिन् र त्यसबेला उनको आँखामा दुःखको नभई हर्षको आँसु हुनेछ।

Share Now

Leave a comment.