कालाबजारी गरेमा तत्काल कारबाही गरिने गृह मन्त्रालयको चेतावनी,कोरोनाको अनावश्यक भ्रम नफैलाउन पनि अपील
काठमाडौं,२५फागुन । सम्भावित कोरोनाभाइरस प्रकोपको त्रास फैलिएका बेला व्यापारीले उपभोग्य सामानको कालोबजारी गरेको पाइए खबर गर्न गृह मन्त्रालयले अपील गरेको छ।
मन्त्रालयले अनावश्यक हल्लाको पछाडि लागेर उपभोग्य वस्तुको खरिद तथा भण्डारणमा हतार नगर्न पनि सर्वसाधारणलाई अनुरोध गरेको छ।
पछिल्लो समय व्यापारीहरूले उपभोग्य लगायत सामानको मूल्य बढाएको उपभोक्ताहरूको गुनासोका बीच शनिवार मन्त्रालयले एक विज्ञप्तिमार्फत् त्यस्तो अपील गरेको हो।
कृत्रिम अभाव वा मूल्यवृद्धि गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बीबीसी न्यूज नेपालीलाई बताए।
कारबाही
उनका अनुसार उपभोग्य सामानको कालोबजारी, कृत्रिम अभाव वा मूल्यवृद्धि गरेको पाइए सर्वसाधारणले स्थानीय सरकार, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, प्रमुख जिल्ला अधिकारी अथवा गृह मन्त्रालयमा पनि खबर गर्न सक्नेछन्।
मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छः “कोभिड-१९ का सम्बन्धमा हाल फैलिएको भन्ने अनावश्यक भ्रममा परी उपभोग्य वस्तुको खरिद र भण्डारणमा कुनै पनि प्रकारको हतार नगर्न, कहीँकतै कालोबजारी मूल्यवृद्धि र कृत्रिम अभाव भए, गरेको पाइएमा तत्काल सम्बन्धित निकायमा खबर गर्न अपील गर्दछौँ।”
मन्त्रालयले सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरूलाई सत्य र तथ्यपरक सूचना मात्र प्रवाह गर्दै जनमानसमा त्रासदीपूर्ण अवस्था सिर्जना हुन नदिन पनि अपील गरेको छ।
नेपालमा हाल कोरोनाभाइरसबाट ग्रस्त भइरहेको व्यक्ति नदेखिएको भन्दै गृह मन्त्रालयले सरकारको तर्फबाट प्रवाह गरिने सूचनालाई मात्रै आधिकारिक मान्न आग्रह गरेको छ।
“स्वास्थ्य मन्त्रालयले दैनिक बुलेटिन प्रकाशित गर्ने गरेको छ। त्यसलाई मात्रै आधिकारिक मान्न हामीले सम्बन्धित सबैमा अपील गरेका छौँ,” प्रवक्ता शर्माले भने।
रङ्गहरूको पर्व होली आउनै लाग्दा मन्त्रालयले सकेसम्म जमघट नगर्न र विशेष सतर्कता अपनाउन समेत आग्रह गरेको छ।
सतर्कता
“हामीले होली नै नमनाउनूस् त भन्दैनौँ, तर विशेष सतर्कता अपनाउन आग्रह गर्छौँ,” शर्माले थपे।
उपत्यका एवम् पहाडी भेगमा सोमवार र तराई क्षेत्रमा मङ्गलवार होली पर्व मनाइँदैछ।
यसअघि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले दाल, चामल, घ्यू, तेल, नुन, ग्यासजस्ता अत्यावश्यक उपभोग्य सामानको पर्याप्त मौज्दात रहेकोले अनावश्यक सङ्ग्रह नगर्न उपभोक्ताहरूलाई अनुरोध गरेको थियो।
उसले यो संवेदनशील अवस्थामा अत्यावश्यक उपभोग्य वस्तुको सहज आपूर्ति एवम् विक्री, वितरणमा सहयोग गर्न अनुरोध समेत गरेको थियो।
अनुचित नाफा कमाउने उद्देश्यले उपभोग्य वस्तुको विक्री, वितरण एवम् कृत्रिम अभाव सिर्जना गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने विभागको चेतावनी छ।(बीबीसीबाट)