देवीघाट( नुवाकोट) । नुवाकोटको देवीघाटमा निर्माणाधीन २५ मेगावाटकाे सौर्य विद्युत आयोजनाबाट बैशाखदेखि विद्युत उत्पादन सुरु हुने भएको छ । निर्माण अन्तिम चरणमा पुगेको आयोजनाबाट पहिलो चरणमा १५ मेगावाट विद्युत उत्पादन सुरु गर्न लागिएको हो ।
चैतभित्र ५ मेगावाट र बैशाखभित्र थप १० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने गरी काम भइरहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनका अनुसार प्यानल राख्ने ठाउँ पहिचान गरी थप १० मेगावाटको निर्माण अघि बढाइएको छ ।
प्राधिकरणको स्वामित्वमा रहेको देवीघाट जलविद्युत केन्द्रको नाममा रहेको जग्गामा राखिएको सोलार प्यानलमार्फत दिउँसो उत्पादित विद्युत सोझै राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । ब्याट्री नराखिएकाले घाम लागेको समयमा मात्रै प्लान्टबाट विद्युत उत्पादन हुनेछ ।
केन्द्रको कर्मचारी आवास क्षेत्र नजिकैको खाली जग्गामा १० मेगावाट र विद्युतगृह नजिकै ५ मेगावाटको सौर्य पाता जडान भइरहेको उनले बताए । ‘अहिले पाता जडान कार्य धमाधम हुँदैछ,’ उनले भने, ‘एउटा पाताले २ सय ७५ वाटसम्म विद्युत उत्पादन गर्छ ।’
सौर्य विद्युत आयोजनाबाट उत्पादन हुने विद्युत जोड्न ६६/३३ केभी सबस्टेसन निर्माण भइरहेको छ ।
सबस्टेसन सम्पन्न हुन केही समय लाग्ने हुँदा तत्कालका लागि आयोजनाको विद्युत वैकल्पिकरुपमा ३३ केभी लाइनमा जोड्न घिसिङले ठेकेदार कम्पनीलाई निर्देशन दिए । जवाफमा ठेकेदार कम्पनीका प्रतिनिधिले बैशाखभित्र १५ मेगावाट वैकल्पिक लाइनमार्फत प्रणालीमा जोड्ने प्रतिवद्धता जनाएका छन् ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले २०७५ बैशाखमा आयोजनाको शिलान्यास गरेपछि निर्माण सुरु भएको थियो । सुरुमा १ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहे पनि डिजाइन स्वीकृति, रुख कटानको स्वीकृति लिन समय लागेकाले ढिलाई भएको प्राधिकरणले जनाएको छ ।
‘रुख कटानको कानुनी प्रकृया पूरा गर्न समय लाग्यो । ठेकेदारले पनि डिजाइन तयार गर्न समय लगायो । परामर्शदाताबाट स्वीकृत हुन झन धेरै समय लागेकाले निर्माण तालिका प्रभावित हुन गएको हो’ उनले भने ।
विश्व बैकको ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजना अन्तर्गत प्लान्ट स्थापनाका लागि चिनियाँ कम्पनी राइजन ईनर्जीस“ग ३ करोड ८० लाख अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो । सौर्य विद्युत आयोजनाको डिजाइन, आपूर्ति, निर्माण, सञ्चालन र मर्मतसम्भारको काम ५ वर्षसम्म ठेकेदार कम्पनीले गर्नेछ ।
कम्पनीले ५ वर्षसम्म सञ्चालन गरेपछि आयोजना प्राधिकरणलाई हस्तान्तरण गर्नेछ । आयोजनाले वार्षिक ३ करोड ३० लाख युनिट विद्युत उत्पादन गर्नेछ । आयोजना सञ्चालनमा आएपछि हिउँदमा राष्ट्रिय प्रणालीमा रहेको ऊर्जा अभावलाई कम गर्न सहयोग गर्ने प्राधिकरणले जनाएको छ ।
कुलेखानी जलाशय र कालीगण्डकी ए, मध्यमर्स्याङ्दी, मर्स्याङ्दीलगायत अर्ध–जलाशय आयोजना विद्युतको माग बढी हुने बिहान र साँझको समयमा सञ्चालन गर्न गरेर माग व्यवस्थापन गर्न सकिने प्राधिकरणले जनाएको छ ।