Prakash Adhikari March 9, 2020

काठमाडौं, २६ फागुन । फागुपूर्णिमाको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गनुभएको छ।

राष्ट्रपति भण्डारीले सन्देशमा सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा फागु पर्वले समस्त नेपालीबीच सामाजिक सद्‌भाव, सहिष्णुता, राष्ट्रिय एकता र ऐक्यबद्धता कायम राख्न योगदान पुर्‌याउनेछ भन्ने विश्वास व्यक्त गर्नुभएकोे छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले रङहरूको पर्व होली पर्व २०७६ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, ससद्‌भाव, समृद्धि र निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले शरद ऋतुबाट वसन्त ऋतुको आगमन भएको यस सुखद् समयमा आउने यस पर्वले सप्तरङ्‌गी जस्तै रङ्‌गीन नेपाली समाजलाई एक सूत्रमा जोडेर आपसी ससद्‌भाव, सहिष्णुता, प्रेम र भाइचाराको अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

उपराष्ट्रपति पुनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई सार्थक बनाउन होलीले सबै नेपालीलाई प्रेरणा दिने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

संघीय संसदमा प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि फागु पर्वका अवसरमा देश र विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी र दाजुभाईलाई शुभकामना दिनुभएको छ ।

उहाँले होलीलाई नेपालीको धार्मिक तथा साँस्कृतिक पर्वको रुपमा व्याख्या गर्दै भन्नुभएको छ, अन्यायमाथि न्यायको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको रुपमा मनाउँदै आएको छ ।

उहाँले वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आएको होली पर्व मुलुकलाई शान्ति, एकता, पारस्परिक विश्वास, उच्चतम सामाजिक–नैतिक मूल्य–मान्यता र समृृद्धिको बाटोतर्फ लैजान हामी सबैलाई प्रेरित गरोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभएको छ ।

Share Now

Leave a comment.