काठमाडौं, ४ चैत्र । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको डेढ अर्बभन्दा बढीको आईपीओ निष्कासन तथा बिक्री आजदेखि खुला भएको छ। कम्पनीले प्रतिकित्ता १०० अंकित दरका १ करोड ६० लाख कित्ता साधारण सेयर निष्कासन गरेको छ।
कम्पनीले कुल पूँजी १० अर्बको १६ प्रतिशतले हुन आउने पूँजी १ अर्ब ६० करोड रुपैयाँ बराबरको सेयर निष्कासनका गरेको हो। निष्कासित १ करोड ६० लाख कित्तामध्ये ७३ हजार ५ सय कित्ता कर्मचारीहरुलाई बाँडफाँड गरिएको र ८ लाख कित्ता शेयर सामुहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ।
कम्पनीले सर्वसाधारणको लागि १ करोड ५१ लाख २६ हजार ५ सय कित्ताका छुट्टयाएको छ ।
आवेदकले न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। कम्पनीको सेयर निष्कासन छिटोमा चैत ७ गते र ढिलोमा चैत १८ गते बन्द हुनेछ।
पुनर्बीमा कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेड तोकिएको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका अलावा मेरो सेयर सफ्टवेयरबाट पनि आवेदन दिन सकिनेछ।
पुनर्बीमा कम्पनीको आईपीओलाई क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले इक्रा एनपी आईपीओ ग्रेड २ रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको आधारभूत अवस्था औसतभन्दा बलियो रहेको पुष्टि गर्दछ।
कम्पनीले सार्वजनिक गरेको विवरणमा उल्लेख भए अनुसार प्रतिसेयर नेटवर्थ १ सय ४८ रुपैयाँ ५६ पैसा रहेको छ भने प्रतिसेयर आम्दानी १४ रुपैयाँ २ पैसा रहेको छ। सो अवधिसम्ममा कम्पनीले १ अर्ब ६१ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
कम्पनीले चालु आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १ अर्ब ८८ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ। यस अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ १ सय ५३ रुपैयाँ ५८ पैसा र प्रतिशेयर आम्दानी ११ रुपैयाँ ९५ पैसा कायम हुने प्रक्षेपण गरेको छ।


















