Prakash Adhikari March 25, 2020

न्यूयोर्क(संयुक्त राज्य अमेरिका), १२ चैत्र । अमेरिकाको न्यूयोर्कमा बस्ने नेपाली युवा अनिल लिम्बुको कोरोना भाइरसको संक्रमणका कारण सोमबार राति निधन भएको छ ।
लिम्बूलाई शुक्रवार न्यूयोर्कको एलमष्ट अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उपचारको क्रममा सोमबार राति उहाँको निधन भएको हो ।

पाँचथर जिल्लामा जन्मिएका लिम्बु पछिल्लो समय उवर लिफ्ट चलाउने गर्नुहुन्थ्यो । उहाँका दुई छोरा, एक छोरी र श्रीमती हुनुहुन्छ ।

लिम्बूको निधनमा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समितिका अध्यक्ष आनन्द विष्ट र एनआरएनए न्यूयोर्क च्याप्टरका अध्यक्ष रामहरी अधिकारीले श्रद्धाञ्जली र समवेदना सन्देश दिनुभएको छ ।

करिब ७० हजार नेपालीहरू बसोबास गर्ने न्यूयोर्कमा अरु चार जना नेपाली समेत कोरोना संक्रमित भएका छन् । जसमा तीन जना लिफ्ट र उबर चालकहरू रहेका छन् ।

अमेरिकामा कोरोना भाइरसको कारण ६ सयभन्दा बढी अमेरिकनले ज्यान गुमाइसकेका छन् भने ४६ हजार ५ सय संक्रमित भइसकेका छन् । यो रोग अमेरिकाका सवै राज्यमा तीव्र गतिमा फैलिरहेको भए पनि न्यूयोर्क संक्रमणको केन्द्र जस्तो बनेको छ । न्यूयोर्क राज्यमा नै कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या २ सय पुगेको छ ।

Share Now

Leave a comment.