काठमाडौं,५ माघ । नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक आइतबार बस्ने सहमति भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच शुक्रबार भएको लामो भेटवार्ता पछि आइतबार एकता संयोजन समितिको बैठक बस्ने सहमति भएको हो ।
बैंककमा स्वास्थ्य उपचार गरेर फर्किएकाएमाले अध्यक्ष ओलीलाई भेट्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बालकोट पुगेका थिए । दुवै नेताबीच करिब ३ घण्टा भेटवार्ता भएको छ ।
एमाले अध्यक्ष के.पी. शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार दुई अध्यक्षले राष्ट्रियसभा गठनबारे कार्यदललै दिएको प्रतिवेदनमा छलफल गरेका छन् र आवश्यक परेमा सामान्य हेरफेर गरेर अन्तिम रुप दिने सहमति भएको छ ।
एमाले र माओवादीको कार्यदलले राष्ट्रियसभाको ५६ मध्ये ४३ सिट बाँडफाँड गरेका छन्, जसमा एमालेले २९ र माओवादीले १४ सिट पाएका छन् ।
बाँकी सिट भागवण्डा भएको छैन ।
प्रदेश सरकार गठन र पार्टी एकताबारे पनि छलफल भएको छ । पार्टी एकतालाई अन्तिम रुप दिन भोलि शनिबार पनि दुई अध्यक्षबीच कुराकानी हुनेछ ।