Prakash Adhikari March 27, 2020

बेइजिड.(चीन), १४ चैत्र । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस संक्रमणविरुद्धको लडाइमा सहकार्य गर्न अमेरिका र चीन सहमत भएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भएको टेलिफोन वार्तामा यस्तो सहमति भएको हो ।

चीनको सरकारी टेलिभिजन सीसीटीभीका अनुसार जी–२० को भिडियोमार्फत् गरिएको शीर्ष बैठकपछि सो कुराकानी भएको हो।

सो भिडियो कन्फ्रेन्समा सीले एकता र ऐक्यबद्धताका लागि आग्रह गर्दै कोरोना भाइरस रोक्नका लागि अन्तर्राष्ट्रिय प्रयासहरुलाई सशक्त बनाउने, आर्थिक क्षेत्र ओरालो लागेका बेला अर्थतन्त्रलाई टेवा दिने, र अमेरिका तथा चीनबीच देखिएको असमझदारी कम गर्न आग्रह गर्नुभएको थियो ।

‘यो भाइरसको कुनै भौगोलिक सीमाना छैन र यो महामारी हाम्रो साझा दुष्मन हो। यतिबेला यसको रोकथामका लागि सबै देशले सहकार्यका हात फैलाउनुपर्छ,’ सीले भन्नुभएको थियो।

यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले पनि चीनका राष्ट्रपति सीसँग निकै राम्रो कुराकानी भएको सार्वजनिक गर्नुभएको छ ।

‘यो ग्रहको ठूलो हिस्सालाई ध्वस्त पारिरहेको कोरोना भाइरसबारे वृहतरुपमा छलफल भयो,’ ट्रम्पले ट्विटरमा भन्नुभएको छ, ‘चीनले यो भाइरसबारे निकै बलियो जानकारी विकास गरेको छ। हामी सँगै काम गरिरहेका छौं। धरै सम्मान छ।’

Share Now

Leave a comment.