न्यूयोर्क(संयुक्त राज्य अमेरिका), १६ चैत्र(एजेन्सी) । विश्वभर अनपेक्षित रुपमा फैलिएको कोरोना भाइरसको महामारीबाट मर्नेको संख्या ३० हजार नाघको छ ।
अमेरिकी सञ्चार संस्था सीएनएनले जनाए अनुसार इटालीमा मात्रै कोरोना भाइरसको संक्रमणको महामारीबाट १० हजार माथिको मृत्यु भएको छ ।
संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमणबाट मर्नेको संख्या २ हजार नाघेको छ । बिहिबारसम्म कोरोनाबाट मर्नेको संख्या जम्मा १ हजार रहेको थियो । तर दुइदिनमा यो संख्या बढेर २ हजार १० पुग्यो । अमेरिकामा कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ६ सय ८८ पुगेको छ ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसबाट अधिक प्रभावित न्यूयोर्कलाई क्वारेन्टाइनमा राख्नभन्दा ट्राभल एड्भाजरी जारी गरी भ्रमण रोक्न उपयुक्त हुने विचार सार्वजनिक गर्नुभएको छ ।
कोरोना भाइरसको संक्रमणबाट सबैभन्दाबढी प्रभावित इटालीमा यसबाट मर्नेको संख्या १० हजार नाघेको छ । इटालीका प्रधानमन्त्रीले नयाँ ऐन पारित गरी कोरोनाको चपेटामा परेका शहरहरलाई सघाउन ४ अर्ब ७० करोड यूरो बराबरको रकम परिचालनको प्रबन्ध गर्नुभएको छ ।
स्पेनमा शनिवार कोरोना संक्रमणबाट ८ सय ३२ जनाको ज्यान गएको छ । यो संगै स्पेनमा कोरोनाबाट मर्नेको संख्या ५ हजार ६ सय ९० पुगेको छ । शनिवार स्पेनमा थप ८ हजार जनामा यो संक्रमण देखिएको छ । यो संगै स्पेनमा संक्रमितहरुको संख्या ७२ हजार पुगेको छ ।
फ्रान्समा थप ३ सय १९ जनाको ज्यान गएको छ । कोरोनाबाट मर्नेको संख्या फ्रान्समा २ हजार ३ सय १४ पुगेको छ ।
बेलायतमा कोरोनाबाट शनिवार २ सय ६० जनाको जीवन गएको छ र हालसम्म यस संक्रमणबाट मर्नेको संख्या १ हजार नाघेको छ ।
कोरोनाले अफ्रिकी महाद्धीपलाई पनि छोडेको छैन । विश्व स्वास्थ्य संघका महानिर्देशक डा. अधनम ग्रब्रियस ट्रेडोसले अफ्रिकाका दर्जनौ मुलुकमा कोरोना भाइरस संक्रमण फैलिएको र यसबाट ४९ जनाको जीवन जानुको साथै २ हजार ६सय ५० जना प्रभावित भएको जानकारी दिनुभएको छ ।
कोरोना भाइरसको उद्गम मानिएको चीनमा वितेको २४ घण्टामा ४५ वटा नयाँ केशहरु सामुन्ने आएका छन् । यो शुक्रबारको ५४ भन्दा कम हो । चीनमा कोरोनाबाट जीवन गुमाउनेको संख्या ३ हजार ३ सय पुगेको छ । यसको संक्रमणबाट ८१ हजार ४ सय ३९ जना प्रभावित भएका छन् । कोरोना भाइरसको उद्गम भएको चीनको वुहान शहर शनिवारदेखि आंशिक रुपमा खुलेको छ ।
टर्कीमा कोरोनाबाट मर्नेहरुको संख्या १ सय नाघेको छ ।
भारतमा यसले थप ५ जनाको ज्यान लिएको छ । शनिवार कोरोनाको १ सय ९ वटा नयाँ बिरामी भेटिएका छन् । यो संगै भारतमा संक्रमितको संख्या ६ सय ७४ पुगेको छ । भारतमा सरकारले २१ दिने लक डाउनबाट प्रभावितहरुको सहयोगार्थ १७०० खर्ब भारतीय रुपैयाको राहत प्याकेज ल्याएको छ ।
नेपालमा हालसम्म यस रोगबाट संक्रमित ५ विरामी भेटिएका छन् । ती मध्यै एक जना स्वास्थ्योपचार पछि निको भैसकेका छन् ।


















