काठमाडौं, २७ चैत्र । नेपालको चलचित्र उद्योगमा मजदूरको रुपमा कार्यरत प्राविधिकहरुलाई लकडाउनको कारण पर्न गएको आर्थिक समस्या समाधानका लागि अभिनेत्री द्धय पूजा शर्मा र बर्षा राउतले सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
चलचित्र क्षेत्रमा सक्रिय प्राविधिकहरुको साझा संस्था चलचित्र प्राविधिक संघले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका प्राविधिकहरुलाई सहयोग गर्न अपिल गरेपछि उहाँहरुले यसलाई अत्यन्त सकारात्मक कदम भन्दै सहयोगको हात बढाउनुभएको हो ।
अभिनेत्री पूजा शर्माले पनि २ लाख रुपैया बराबरको खाद्यन्न प्राविधिकको परिवारलाई वितरण गर्ने बचन दिनुभएको छ।
नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले अभिनेत्री शर्माले २ लाख बराबरको खाद्यन्न सामाग्री किनेर प्राविधिकहरुलाई सहयोग गर्न लागेको जानकारी दिनुभएको छ ।
त्यस्तै, अभिनेत्री वर्षा राउतले पनि चलचित्र प्राविधिकहरुलाई ५१ हजार रुपैयाको आर्थिक सहयोग गर्नुभएको छ ।
नेपाल चलचित्र प्राविधिक संघले आर्थिक अवस्था कमजोर भएका चलचित्र प्राविधिकहरु लकडाउनको कारण दैनिक आम्दानीबाट बञ्चित हुन गएकोले समस्यामा परेको भन्दै सहयोगको अपिल गरेपछि चर्चित हास्य कलाकारद्धय दीपकराज गिरी र दीपाश्री निरौलाको नेतृत्वमा छक्कापञ्जा चलचित्र प्राविधिकहरुलाई १ लाख १० हजार रुपैया सहयोग गर्ने घोषणा गरेको थियो ।
त्यस लगत्तै लोकप्रिय अभिनेता पल शाहले ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभयो ।
बिहान बेलुकाको छाक टार्नै समस्या हुने प्राविधिकहरुलाई सहयोगका लागि नेपाल चलचित्र प्राविधिक संघले विपन्नता व्यवस्थापन कोष समेत खडा गरेको छ ।
चलचित्र प्राविधिक संघले समस्यामा परेका प्राविधिकलाई ३ हजार रुपैयाँ बराबरको राहत प्याकेज स्वरुप एक बोरा चामल, दाल, खाने तेल, नुनजस्ता अत्यावश्यक खाद्यन्न सामाग्री प्रदान गर्ने भएको छ । संघमा आबद्ध १ सय ३ सय सदस्यलाई चरण चरणमा राहत सामग्री वितरण गरिने अध्यक्ष लामाले बताउनुभएको छ ।


















