Prakash Adhikari April 9, 2020

रियाद(साउदी अरेबिया), २७ चैत्र(बीबीसी) । हुथी विद्रोहीसँग यमनमा लडिरहेको साउदी नेतृत्वको गठबन्धनले युद्धविरामको घोषणा गरेको अधिकारीहरूले बताएका छन्।

पाँच वर्ष लामो युद्ध अन्त्य गर्ने संयुक्त राष्ट्रसङ्घको प्रयासको समर्थनमा बिहीवारबाट लागु हुनेगरी युद्धविराम हुन लागेको स्रोतहरूले बीबीसीलाई बताएका छन्।

पश्चिमा सैन्य शक्तिले समर्थन गरिरहेको उक्त गठबन्धन हुथीविद्रोही विरुद्ध सन् २०१५ को मार्च महिनादेखि लडिरहेको छ।

हुथी विद्रोहीहरूले पनि यसलाई युद्धविरामका रुपमा हेरेका छन् कि छैनन् भन्ने स्पष्ट भएको छैन।

आह्वान
गत महिना संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिओ गुटेरसले यमनमा लडिरहेका पक्षहरूलाई युद्धविराम गरेर कोरोनाभाइरसको सम्भावित प्रकोपसँग जुध्नका लागि प्रयासहरू चाल्न आह्वान गर्नुभएको थियो ।

उहाँले देशका सबै युद्धरत पक्षलाई देशव्यापी रुपमा युद्ध मत्थर बनाउँदै लैजानका लागि आफ्ना विशेष दूत मार्टिन ग्रिफिथ्ससँग काम गर्न आह्वान गर्नुभयो।

ग्रिफिथ्सले युद्धविरामसबन्धी समाचारको बुधबार नै एक विज्ञप्तिमार्फत स्वागत गर्नुभयो।

उहाँले भन्नुभयो : “सबै पक्षले यो अवसरको उपयोग गर्नुपर्छ र युद्ध अविलम्ब रोक्नुपर्छ।”

युद्धविरामबारे छलफल गर्न दुवै पक्षले भिडिओ कन्फेरेन्समा भाग लिने ठानिएको छ।

उक्त छलफलमा हवाइ, जमिन र जल सबैतिर युद्ध रोक्ने विषयमा प्रस्ताव गरिनेछ।

मानवीय सङ्कट
साउदी नेतृत्वको गठबन्धनले विज्ञप्ति जारी गर्दै लेखेको छ: “यमनका लागि संयुक्त राष्ट्रसङ्घका दूतले यमनी जनताको पीडा कम गर्नका लागि गरिरहेका प्रयासलाई सफल पार्न र कोरोनाभाइरसको महामारीसँग जुझ्न र यसको रोकथामका लागि गठबन्धनले दुई साताका लागि बृहत् युद्धविरामको घोषणा गरेको छ।”

यमनको अवस्थालाई लामो समयदेखि विश्वकै खराब मानवीय सङ्कट भनि व्याख्या गरिँदै आएको छ।

युद्धका क्रममा थुप्रै सर्वसाधारणको ज्यान गएको छ।

संयुक्त राष्ट्रसङ्घले विगतमा पनि वार्ताको मध्यस्थता गरेको थियो तर गठबन्धनले देशव्यापि युद्धविरामको घोषणा गरेको यो पहिलोपटक हो।

Share Now

Leave a comment.