Prakash Adhikari April 12, 2020

लण्डन(संयुक्त अधिराज्य),३० चैत्र । विश्वभर फैलिएको कोरोनाभाइरसको संक्रमणमा परेर बिरामी भएका गैरआवासीय नेपालीमध्य १४ जनाको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समिति अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा ८, अमेरिकामा ५ र संयुक्त अरब इमिरेट्स (युएई)मा १ जनाको ज्यान गएको हो ।

स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार ६ सय ६५ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् ।

विदेशस्थित नेपाली राजदूतावास, गैरआवासीय नेपाली संघका शाखाहरु तथा स्थानीय संघसंस्थाद्धारा प्राप्त सूचनाका आधारमा सो आँकडा तयार पारिएको डा। सापकोटाले जानकारी दिनुभएको छ ।

समितिले जनाए अनुसार हालसम्म अमेरिकामा ५ सय, बेलायतमा एक सय, स्पेनमा १८, युएईमा १०, जर्मनीमा ४, पोर्चुगलमा ८, अष्ट्रेलियामा ९, साउदी अरेबियामा ४, कुवेतमा ५, जापानमा १, मलेसियामा १, म्यानमारमा १ र हङकङमा १ जना गैर आवासीय नेपालीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १२ पुगिसकेको छ । आइतबार बीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा आइसोलेसनमा रहेका ३ जना विरामीमा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालका दर्जन संक्रमितमध्ये एक जनालाई निको भएको छ ।

Share Now

Leave a comment.