Prakash Adhikari April 23, 2020

काठमाडौ, ११ बैशाख ।  खानेपानी तथा सरसफाईको क्षेत्रमा कार्यरत नेपालका व्यवसायी र विज्ञहरुले आम नागरिकले उपयोग गर्ने खानेपानीको गुणस्तर र चर्पीको अवस्थामा चिन्ता व्यक्त गरेका छन् ।

स्मार्ट वास सोलुसन्स प्रा.लि.को आयोजनामा बुधबार राजधानीमा सम्पन्न भिडियो कन्फरेन्सका सहभागी विज्ञहरुले यस्तो चिन्ता र चासो व्यक्त गरेका हुन् ।

कन्फरेन्समा स्रोत व्यक्तित्वको रुपमा रहनुभएको नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान(नाष्ट)की वैज्ञानिक डा.तिष्टाप्रसाईँ जोशीले अष्ट्रेलिया र पेरिसमा ढलमा पनि कोरोना भाइरस देखिएकोले खानेपानी र सरसफाईको क्षेत्रका कार्यरत जनशक्तिले विशेष सतर्कता अपनाउन आवश्यक रहेको बताउनुभयो ।उहाँले ढल र नालीका फोहर पानी प्रशोधनको सख्त जरुरत भएको बताउनुभयो ।

उहाँले सतहमा कोरोना भाइरसको आयु ४ घण्टादेखि ५ दिनसम्म रहने देखिएकोले  १ प्रतिशत सोडियम हाइड्रो क्लोराइड अथवा फिनेल वा ७० प्रतिशत अल्कोहलयुक्त स्यानिटाइजरको उपयोग गरी यसलाई निसंक्रमित बनाउन सकिने बताउनुभयो । उहाँले कार्यालयमा हात सफाईको स्टेशन राख्न पनि सुझाव दिनुभयो ।
उहाँले खानेपानीको गुणस्तरकाबारेमा आमनागरिकलाई आश्वस्त पार्न पनि उत्तिकै जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल खानेपानी सस्थानका महाप्रबन्धक भूपेन्द्र बस्नेतले लकडाउनको समयमा पनि संस्थानले आफूले आपूर्ति गर्ने खानेपानी प्रणालीमा पानीको शुद्धिकरणका लागि आवश्यक क्लोरिन लगायतका रसायनिक पदार्थहरु पुर्याएको र संस्थानबाट वितरित पानीको गुणस्तर नेपाल गुणस्तरको मापदण्डभित्र रहेको दावी गर्नुभयो । उहाँले कोरोना संक्रमण रोक्नका लागि बनाइएका क्वारेन्टाइन स्थलहरुमा पनि स्वच्छ र सुरक्षित खानेपानी पर्याप्त पुर्याएको दावी गर्नुभयो ।

कन्फरेन्समा सहभागी पूर्वसचिव ई.किशोर थापाले अस्पतालहरुमा आपूर्ति भएको खानेपानी, शौचालयको सफाई र त्यहाबाट निसृत  फोहर पदार्थको व्यस्थापन मुख्य चुनौति भएकोले खानेपानी, स्वास्थ्य तथा सरसफाई र स्वच्छतामा कार्यरत जनशक्तिले यसमा ध्यान दिनुपर्ने बताउनुभयो ।

कन्फरेन्समा पूर्व मन्त्री ई. गणेश साहले खानेपानीलाई निर्धक्क पिउन योग्य बनाउन यसको प्रशोधन र क्लोरिनेशनमा विशेष ध्यान पुर्याउनु पर्ने, स्थानीय निकायका संबन्धित विभागलाई जनशक्ति उपकरण र आवश्यक स्रोत तथा साधनले सक्षम बनाउनु पर्ने, निजी र सरकारी स्तरका प्रयोगशालाहरुका बीचमा समन्वय हुनपर्ने र खानेपानी तथा फोहर पानी(ढल तथा नालीबाट संकलित)को प्रशोधनको आवश्यक प्रबन्ध मिलाउन आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा सचिन घिमिरेले क्लोरिन छर्केर कोरोना निसंक्रमित हुँदैन भन्ने कुरा विश्व स्वास्थ्य संगठन लगायतका संस्थाहरुले जानकारी दिंदा पनि नेपालका धेरै स्थानीय निकायहरु जमिनमा क्लोरिन छर्केर रोगबाट बचाउन ठूलै योगदान गरेको भ्रममा रहेको उल्लेख गर्दै सो काम रोक्न आग्रह गर्नुभयो ।

कार्यक्रममा पूर्व सचिव हरिराम कोइराला, डा. इन्दिरा पराजुली र हरिप्रसाद शर्माले खानेपानीमा क्लोरिनको उपयुक्त मात्रा कायम गर्र्ने सम्बन्धमा संबन्धित निकायको ध्यानाकृष्ट गराउनुभएको थियो ।

स्मार्ट वास सोलुसनका अध्यक्ष ई. रामदीप साहको अग्रसरतामा भएको सो भिडियो कन्फरेन्समा डा.अनिष घिमिरे, डा.उद्धवराज खड्का,खानेपानी उपकरणको निर्माण, वितरण र मर्मत तथा संभार क्षेत्रका दुर्गाप्रसाद पुरी,खानेपानीको गुणस्तर अनुसन्धानमा कार्यरत अमृत आचार्य,कविन्द्र पुडासैनी लगायतका सहभागीले आम नागरिकलाई स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध गराउन सरकारका संबन्धित निकायलाई आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा खानेपानी संस्थानका महाप्रबन्धक भुपेन्द्र बस्नेतले सतहको पानीबाट आपूर्ति हुने केही प्रणालीमा बाढी र पहिरोको कारणको गुणस्तरमा कहिलेकाही समस्या आउनुबाहेक शहरी खानेपानीको गुणस्तरमा शंका गर्नुपर्ने अवस्था नरहेको जानकारी दिनुभएको थियो ।

Share Now

Leave a comment.

Your email address will not be published. Required fields are marked*