काठमाडौं, १२ वैशाख । सानिमा बैंकले कोरोना भाइरसको महामारी नियन्त्रण तथा उपचारको सहयोगका लागि सरकारलाई रु १ करोड ६८ लाख सहयोग गरेको छ ।
बैंकले केन्द्रीय सरकार अन्तर्गत स्थापित कोरोना भाइरस संक्रमण, रोकथाम तथा उपचार कोषमा रु ९८ लाख र प्रत्येक प्रदेश सरकारलाई रु १० लाखका दरले ७० लाख रुपैया सहयोग उपलब्ध गराएको छ । यसमध्ये रु ३३ लाख बैंकका कर्मचारीहरुले आफ्नो पारिश्रमिक कटौती गरेर जुटाएको रकम पनि छ ।
बैंकले केन्द्र सरकारको कोरोना भाइरस संक्रमण, रोकथाम तथा उपचार कोषमा रकम जम्मा गरेको हो भने हरेका प्रदेश सरकारलाई सम्बन्धित प्रादेशिक कार्यालयका प्रतिनिधिहरुमार्फत् सहयोग रकम हस्तान्तरण गरेको हो ।
बैंकले यसबाट कोरोना भाइरसको संक्रमण रोकथाम तथा उपचारका लागि केन्द्रीय र प्रादेशिक सरकारलाई मद्दत पुग्ने विश्वास लिएको छ ।
बैंकले कोरोना भाइरस संक्रमणबाट बचाउनका लागि अपनाइएको लकडाउनको समयमा पनि काठमाडौं उपत्यकाभित्र र बाहिरका विभिन्न शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्नुका साथै सर्वसाधारणको सुरक्षालाई ध्यानमा राख्दै विभिन्न डिजिटल बैंकिङ्ग च्यानलहरु मार्फत् निःशुल्क सेवा प्रदान गर्दै आइरहेको छ ।