प्रकाश अधिकारी
काठमाडौं, १७ बैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्रको शक्ति सन्तुलन आफनो पक्षमा ल्याएर सत्ताको बागडोर आफ्नो हातमा यथावत राख्न प्रधानमन्त्री के.पी. शर्मा ओली संसदीय दलको गणित आफ्नो पक्षमा पार्ने रणनीतिमा जुट्नु भएको छ ।
प्रधानमन्त्री निकट उच्च स्रोतका अनुसार संसदीय दलका बहुमत सदस्यको समर्थन आफ्नो पक्षमा देखाउन उहाँले मंगलबार हुने भनिएको सचिवालय बैठकलाई बुधबार साँझ ५ बजे सारिएको छ । आजको सचिवालय बैठकले पार्टी भित्रका सबै समस्याहरुको समाधानको लागि स्थायी समितिको बैठक बोलाउने निर्णय गर्नेछ । सो बैठकमा प्रधानमन्त्रीले संसदीय दलका बहुमत सदस्यको हस्ताक्षरसहित समर्थन आफूलाई रहेको ब्यहोरासहितको पत्र प्रस्तुत गरी आफ्नो सरकारले गरेका कामहरुको प्रतिरक्षा गर्नु हुनेछ ।
फुटाएर राज गर्ने
प्रधानमन्त्री ओलीले आफ्नो विरोधी गुटको गठबन्धन टुटाएर आफूलाई सुरक्षित गर्ने रणनीति अख्तियार गर्नुभएको छ । उहाँले आफ्नो विरुद्धमा रहनुभएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई सोमबार बोलाएर विरोधी गुटको नाडी छाम्नु भएको थियो । ओली निकट एक केन्द्रीय सदस्यको भनाईमा पूर्वप्रधानमन्त्री नेपालको गनगनलाई आफूले सत्ता छाड्नु परे पूर्वमाओवादी समूहका अध्यक्षलाई नदिने नेपाललाई नै सुम्पिने भएकोले अपमानजनक ढंगले हटनुपर्ने अवस्था सिर्जना नगर्नका लागि उहाँले नेपाललाई सहमत गराउनु भएको छ ।
नेपाललाई उत्तराधिकारीको पासा फ्याकेर मत्थर पार्नुभएका प्रधानमन्त्री ओलीले मंगलबार त्यही अस्त्र नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शीरमा बजार्नु भएको छ । प्रधानमन्त्रीले अर्काको मृगौलाको भरमा चलेको उधारो जीवन आफूले पार्टी र देशको हितविरुद्ध कुनै काम नगर्ने र मुलुकमा देखापरेको विद्यमान संकट पार लागेपछि अनुकूल समयमा सहमतिपूर्वक नै सत्ता हस्तान्तरण गर्न आफूलाई कुनै समस्या नहुने बताएर तात्दै गएको प्रचण्डको मथिड.लमा पानी खन्याईदिनुभएको छ ।
प्रधानमन्त्री ओलीले पार्टीका पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई ठूलो चुनौतिको रुपमा लिंदै लिनुहुन्न र एकपटक पार्टी फोडेर निहुरमुन्टो लगाएर पार्टीमा फर्कनुभएका बामदेव गौतमलाई गन्दै गन्नुहुन्न ।
सांसदहरुलाई धम्की !
पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद जोगाउन प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका सांसदहरुलाई धम्क्याउन पनि थाल्नुभएको छ । उहाँले सोमबार साँझ आफ्ना पक्षका सांसदहरुलाई बालुवाटारमा भेला पारेर आवश्यकता परेमा पार्टी फुटाउन पनि तयार रहन निर्देशन दिएर सबै सांसदहरुलाई पार्टी फुट्न सक्ने चेतावनी दिनुभएको छ । पद छाड्न अवाञ्छित दबाब आएमा संसदीय दल र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत पुर्याएर पार्टी फोडेर पुरानो एमाले ब्युताइने तर गन्तब्यको ठेगान नभएकाहरुलाई पार्टी बुझाएर आफू र आफ्ना समर्थकलाई जोगी बनाउन आफूलाई ब्रह्मले नदिएको निर्णय उहाँले सांसदहरुलाई सुनाउनुभएको थियो ।
प्रधानमन्त्री ओलीका पक्षमा यति गु्रप, दीपक मल्होत्रा नेतृत्वको अवैध सुन व्यापारीहरुको समूह, सांसद किसान श्रेष्ठसहित घरजग्गा ब्यवसायीहरुको समूह र नेपालका तस्कर ब्यापारीहरु खुलेरै लागेको हुनाले उहाँलाई सत्ताबाट च्यूत गर्ने नेपाल दाहाल र खनालसहित गौतम गुटको सपना यथार्थमा परिणत नहुने दाबी नेपाल कम्युनिष्ट पार्टीको ओली पक्षीय नेताहरुले गरेका छन् । त्यसको स्वरुप के हुन्छ, आजको सचिवालय बैठक र त्यसले निर्धारण गर्ने स्थायी समितिको बैठकबाट प्रष्ट हुनेछ ।
प्रधानमन्त्री ओलीलाई पार्टीको अध्यक्ष र सरकार प्रमुख दुवै पदबाट गलहत्याउने प्रयास अन्त्यमा संघीय सरकार र प्रादेशिक सरकारको पुनर्गठनमा गएर टुंगिने दावी पनि ओली पक्षको रहेको छ । यसपटक नेपाल दाहाल र खनाल गुटले उहाँलाई पदच्यूत गर्न सकेन भने पार्टीमा ओली जंगबहादुरको रुपमा पुनरोउदय हुने र तीन वटै गुटको अस्तित्व संकटमा पर्ने तथा बामदेव गौतमको राजनीतिक हैसियत लगभग समाप्त हुनेमा ओलीका भक्तहरु विश्वस्त रहेका छन् ।


















