काठमाडौं, १८ बैशाख । प्रजातान्त्रिक विचार समाजले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष के.पी. शर्मा ओलीको नेतृत्वमा रहेको वर्तमान सरकारले संसदीय लोकतान्त्रिक राजनीतिक व्यवस्थामाथि नै कुठाराघात गरेको गम्भीर आरोप लगाएको छ ।
समाजका अध्यक्ष डा. केदार नरसिंह के.सी.ले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संसदीय व्यवस्थालाई आत्मसात गरेको नेपालको संविधान जारी भएपछि भएको पहिलो निर्वाचनपछि राजनीतिक स्थिरता, शान्ति, विकास र समुन्नतिको नाममा संसदमा प्रचण्ड बहुमत ल्याएको कम्युनिष्ट गठबन्धनबाट बनेको सरकारको १४ महिने शासनकालमा संविधानको मर्ममाथि आघात पार्ने काम भएको, राज्यमा भ्रष्टाचार बढ्दै गएको, राज्यको संलग्नतामा सांसदहरुको अपहरण जस्तो जघन्य प्रकारको अपराधको पुनरावृत्ति भएको, राजनीतिक विकृति र विसंगति मौलाउन थालेकोले लोकतन्त्रको मर्ममाथि प्रहार भएको उल्लेख गर्नुभएको छ ।
उहाँले कोरोना भाइरसको विश्वव्यापी महामारीसँग जुधिरहेको अवस्थामा पनि पार्टीहरु विभाजन गर्न खोज्नु, संविधानको अक्षर र भावना विपरीत राज्य सञ्चालनका लागि महत्वपूर्ण मानिएका संवैधानिक निकायमा पदाधिकारीहरुको सिफारीस गर्ने संवैधानिक परिषद्मा प्रतिपक्षी दलको उपस्थितिलाई उपेक्षा गर्ने अध्यादेश ल्याउन, महामारी र संक्रामक रोगको रोकथाम,नियन्त्रण र उपचारमा होमिएका स्वास्थ्यकर्मीलाई नै मानसिक दबाब सिर्जना गर्ने, व्यक्तिगत वाक स्वतन्तत्रामा अंकुश लगाउने जस्ता निन्दनीय कार्यहरु भएको उल्लेख गर्नुभएको छ ।
समाजले नेपाली जनताले सात दशकभन्दा लामो संघर्ष र बलिदानबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संसदीय व्यवस्थाका माध्यमबाट आर्थिक र सामाजिक विकास गर्दै नेपाललाई समुन्नत राष्ट्रमा रुपान्तरित गर्न सरकार, सत्तारुढसहित विपक्षी दलहरु, नागरिक समाज र राज्यका समग्र अंगहरुलाई संवेदनशिल भएर कार्य सम्पादन गर्न आग्रह गरेको छ ।
समाजले लोकतन्त्रलाई संविधान,ऐन,नियम र नीतिहरुका साथै तिनको असल अभ्यासले जीवन्त बनाउने स्मरण गराउदै मौलिक लोकतान्त्रिक संस्कृतिको विकासका लागि व्यक्तिगत,गुटगट र पार्टीगत स्वार्थभन्दा माथि उठेर हाम्रै पुस्ताको संघर्षले स्थापना गरेको संघीय लोकतान्त्रिक गणतन्त्र, आम नेपाली नागरिक र मातृभूमि नेपालको हितमा समर्पित हुन पनि सबैमा अपिल गरेको छ ।