Prakash Adhikari January 22, 2018

 

काठमाडौं, ८ माघ । देशव्यापी रुपमा फागुन २५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हुर्रे’ को दोस्रो गीत रिलिज भएको छ ।

यसअघि सार्वजनिक भएको ‘ठेकीमा दही’ बोलको गीतले उत्कृष्ट प्रतिक्रिया पाएपछि आइतवार निर्माण यूनिटले ‘बाँचे नी पशुपति मरे नी पशुपति‘’ बोलको गीत सार्वजनिक गरेको छ ।

काली प्रसाद बाँस्कोटा र एकतारेको शब्द रहेको गीतमा कालीकै संगीत रहेको छ । गीतमा जुमा लिम्बु र गीतकार तथा संगीतकार कालीप्रसादको स्वर सुन्न सकिन्छ । धार्मिक स्थल पुशपति क्षेत्रमा खिचिएको भिडियोमा नायिका नीता ढुंगानाले हट आइटम डान्स गरेकी छिन् ।

उनीसँगै अंकित खड्का, राजाराम पौडेल लगायतका कलाकारहरुले पनि गीतमा ठुम्का लगाएका छन् । भिडियोका कारियोग्राफर विक्रम स्वाँर हुन् ।

पहिलो पटक नायिका ढुंगानाले आइटम नृत्य गरेकी हुन् । गीत सार्वजनिक कार्यक्रममा बोल्दै नीताले भनिन्, ‘पहिलो पटक आइटम गीतमा नृत्य गर्न पाउँदा निकै खुसी महशुस भयो । गीत आफैंमा राम्रो भएका कारण पनि मैले काम गरेको हुँ ।’ कार्यक्रममा उनले आफ्नो लाइभ नृत्य पनि देखाइन् ।

यम थापाको लेखनरनिर्देशनमा बनेको फिल्ममा केकी अधिकारी, अनुपबिक्रम शाही, संगीता नापित लगायतका कलाकारहरुको पनि मुख्य भूमिका छ । दावा शेर्पा, सोनम लामा, छिरिङ दोर्जेको निर्माणमा बनेको फिल्मलाई चन्दन दत्तले सम्पादन गरेका छन् ।

फिल्ममा केकीले पशुपतिमा फूल बेच्ने यूवतीको भूमिका निर्वाहा गरेकी छिन् । यस्तै, अनुपबिक्रम पशुपति मन्दिरमा पुजापाठ गर्ने पण्डित बनेका छन् ।

Share Now

Leave a comment.