Prakash Adhikari May 18, 2020

 

काठमाडौं, ५ जेठ । कोरोना भाइरस संक्रमणको विश्वब्यापी महामारी फैलिएको समयमा नेपालका स्थानीय सरकारका प्रमुखहरुले खानेपानीको आपूर्ति र सरसफाईको व्यवस्था आफ्नो उच्च प्राथमिकतामा रहेको बताएका छन् ।

स्मार्ट वास सोलुसन्स प्रा.लि.ले आइतबार गरेको कोरोना भाइरस संक्रमणका सम्बन्धमा खानेपानी र सरसफाई विषयक जुम भिडियो कन्फरेन्समा सहभागी प्रदेश ५ अन्तरगतका स्थानीय निकायका प्रतिनिधि र खानेपानी उपभोक्ता समितिका प्रतिनिधिहरुले पर्याप्त र स्वच्छ खानेपानीको आपूर्ति र सरसफाईलाई आफूहरुले उच्च प्राथमिकता दिएको बताएका हुन ।

सम्मेलनमा सहभागी हुँदै तानसेन नगरपालिकाका प्रमुख अशोक शाहीले नगरपालिकाको पुरानो क्षेत्रमा ५ ठाँउमा पानी लिफ्ट गरेर आपूर्ति गर्नुपरेको र पछि थपिएका क्षेत्रमा स्थानीय स्रोतको सदुपयोग गरी आपूर्ति गर्ने व्यवस्था मिलाइएको बताउनुभयो । उहाँले नगर क्षेत्रमा हरेर घरमा एक धारा पुर्याउने योजनालाई साकार पार्न काम थालिएको बताउनुभयो ।

उहाँले नगरको ढलको प्रशोधन र ठोस फोहरमैलाको व्यवस्थापन चुनौतिपूर्ण भएको र यसको पूर्वाधार निर्माण तथा व्यस्थापनको लागि बाह्य स्रोत खोजी भएको पनि बताउनुभयो ।

कार्यक्रममा रामग्राम नगरपालिकाकी उपप्रमुख रम्भा कुँवरले नगरका अधिकांश वडाका खानेपानीमा आर्सेनिकको समस्या रहेको बताउनुभयो । उहाँले नगरमा संघीय,प्रादेसिक तथा स्थानीय तिनै तहका सरकारका खानेपानी आयोजनाहरु सञ्चालन भएको बताउदै सबैका बीचमा समन्वय गरेर सबै नगरवासीलाई पर्याप्त मात्रामा स्वच्छ खानेपानी उपलब्ध गराउने विषयलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

 

कार्यक्रममा राजापुर नगरपालिका बर्दियाका प्रमुख शिवप्रसाद चौधरीले आफ्नो नगर क्षेत्रमा खानेपानी आपूर्तिका क्षेत्रमा भएका प्रयासहरुको चर्चा गर्दै कोरोना संक्रमणबाट नगरवासीलाई बचाउन स्थापना गरिएका क्वारेन्टाइनहरुमा पर्याप्त खानेपानी र सरसफाईको प्रबन्ध भएको बताउनुभयो ।

भिडियो कन्फरेन्समा बोल्दै लमही नगरपालिकाका प्रमुख कुलबहादुर खत्री क्षेत्री र उपप्रमुख देवका बेल्बासले नगरपालिकाका खानेपानी आयोजनाहरु विभिन्न चरणमा रहेको उल्लेख गर्दै नगरपालिकाले भूमिगत पानीको स्रोत परिचालन गरी खानेपानी आपूर्र्ति गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा बाणगंगा नगरपालिकाका प्रमुख मंगलप्रसाद थारुले सबै नगरबासीलाई पर्याप्त मात्रामा स्वच्छ खानेपानी उपलब्ध गराउन प्रोफाइल बनाउन थालिएको र कतिपय क्षेत्रमा खानेपानी आपूर्तिको योजना निर्माणको लागि टेण्डर प्रक्रिया सुरु भएको पनि बताउनुभयो ।

उहाँले नगरपालिका खुला दिशामुक्त भएको बताउदै नगरपालिकामा ढलप्रशोधनको भने समस्या रहेको बताउनुभयो ।

 

भिडियो कन्फरेन्समा सहभागी हुँदै बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर खत्री क्षेत्रीले नगरपालिकामा खानेपानी र सरसफाईको सेवा पुर्याउनको लागि १३ हजार ६ सय ६३ घरधुरीको तथ्यांक संकलन भैसकेको र वडा नं १,२,३,६,७ र ९मा खानेपानी आपूर्ति गर्न ठूला आयोजना सञ्चालनका लागि टेण्डर भैसकेको बताउनुभयो ।

उहाँले नगरपालिकाका दुईबटा क्याम्पसलाई क्वारेन्टाइन बनाइएको र त्यहाँ पर्याप्त खानेपानी र सरसफाईको सुविधा प्रदान गरिनुको साथै नगरप्रवेश नाकामा कोरोना भाइरसको जाँचको व्यवस्था मिलाइएको पनि बताउनुभयो ।

कार्यक्रममा तुलसीपुर खानेपानी उपभोक्ता समितिका अध्यक्ष खेमराज ओलीले सरकारको ७० प्रतिशत लगानी र ३० प्रतिशत स्थानीय लगानीमा खानेपानीका आयोजनाहरु निर्माण गर्ने कार्यको थालनी भएको बताउदै बजेटमा स्थानीय निकायहरुलाई खानेपानीको क्षेत्रमा गर्नुपर्ने लगानीको अंश किटानी गरिनुपर्ने बताउनुभयो ।

उहाँले खानेपानीको मुहान सुक्ने,खडक,सिंचाई,ढल निर्माणका कार्यले खानेपानीको पाइप फुट्ने र बर्षामा धमिलो पानी आउने समस्या ब्याप्त रहेको पनि उल्लेख गर्नुभयो । उहाँले खानेपानीको डिमाड चार्ज र विद्युत महसूलमा सिंचाईमा जस्तै मिनाहा र छुट दिनुपर्ने,कर्मचारीलाई खानेपानीको उत्पादन, वितरणका काममा जाँदा सोधखोज नहुनुपर्ने र उनीहरुलाई कोरोना भाइरसको संक्रमणबाट बचाउन पीपीई लगायतका सुरक्षा सामग्री उपलब्ध गराउन आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा घोराही खानेपानी उपभोक्ता समितिका प्रतिनिधिले खानेपानी आपूर्तिका क्रममा मोटरहरु जल्ने, पाइपहरुको जडान हुने एल र टी आकारका पाइपहरुको अभाव हुने र पाइपहरु फुट्ने समस्या रहेको बताउनुभयो ।

कार्यक्रममा सहभागी हुनुभएका सामुदायिक बन उपभोक्ता महासंघका सचिव ठाकुर भण्डारीले खानेपानीको स्रोत व्यवस्थापन र संरक्षणमा देशभरका सामुदायिक वन उपभोक्ता समितिले ध्यान दिएको उल्लेख गर्दै कोरोना भाइरसको संक्रमण देखिएपछि राहत कार्य र क्वारेन्टाइन व्यवस्थापन तथा सरसफाईमा स्थानीय सरकारसंग मिलेर उपभोक्ता संघहरुले काम गरेको बताउनुभयो ।

सम्मेलनमा स्मार्ट वासका प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद शर्मा र खानेपानी विज्ञ डा.इन्दिरा पराजुलीले हाल विश्वमा देखिएको कोरोना संक्रमणबाट बच्न हात र अनुहारको सफाई महत्वपूर्ण भएको बताउदै सफाईको प्रमुख माध्यम पानीको स्वच्छता कायम राख्न र कोरोना भाइरसबाट हुन सक्ने संक्रमणबाट बच्न खानेपानी र सरसफाईको क्षेत्रमा अपनाउनु पर्ने सावधानीका सम्बन्धमा अलग अलग कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा सुदर्शन भण्डारीले स्थानीय निकायहरुले खानेपानीको परिमाण बढाएर पर्याप्तमात्रामा आपूर्ति गर्नुपर्ने र खानेपानीको गुणस्तर कायम गर्नुपर्ने विषयमा ध्यान दिनुपर्ने बताउनुभयो ।

स्मार्ट वास सोलुुसन्स प्रा.लि.का अध्यक्ष ई.रामदीप साहको संयोजकत्व र सहजीकरणमा सम्पन्न सो कार्यक्रममा खानेपानी तथा ढल निकास विभागका कविन्द्रकुमार कार्कीले पनि स्वच्छ खानेपानी आपूर्तिका विविध आयाममा प्रकाश पार्नुभएको थियो ।

स्मार्ट वास सोलुसन्स प्रा.लि.ले आम जनतालाई कोरोना भाइरसको संक्रमणबाट बचाउन पर्याप्त मात्रामा स्वच्छ पानी उपलब्ध गराउन र आफ्ना नगर तथा गाँउ क्षेत्रभर हातधुने बानी संस्कारको रुपमा विकसित गराउने अभिप्रायले सबै प्रदेशका स्थानीय सरकारका प्रतिनिधिहरुलाई भिडियो कन्फरेन्सका माध्यमबाट सचेत बनाउने कार्यक्रमको थालनी गरेको छ ।

यस अन्तरगत प्रदेश नं १ , बाग्मती र गण्डकी प्रदेश अन्तरगतका स्थानीय सरकारका प्रतिनिधिहरुको भिडियो कन्फरेन्स सम्पन्न भैसकेको छ ।

Share Now

Leave a comment.

Your email address will not be published. Required fields are marked*