Prakash Adhikari May 28, 2020

काठमाडौं, १५ जेठ । राष्ट्पति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसले सभ्य र समुन्नत समाज निर्माणमा सबै नेपालीलाई प्रेरित गर्ने बताउनुभएको छ ।

१३ औ. गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपालीलाई बिहिबार शुभकामना दिंदै उहाँले सो कुरा भन्नुभएको हो ।

आफ्नो शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ,’ संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा यहाँ उपलब्ध प्राकृतिक सम्पदाको दिगो उपयोग गर्दै सामाजिक, आर्थिक र सांस्कृतिक रूपले सभ्य र समुन्नत समाज निर्माणका लागि एकजुट हुन प्रेरणा दिनेछ भन्ने विश्वास लिएको छु ।’

राष्ट्रपति भण्डारीले सदाकाल स्वाधीन राष्ट्रको रूपमा रहेको नेपालको भौगोलिक अखण्डता कायम गर्न र राष्ट्रियता सुदृढीकरण गर्न अतुलनीय योगदान पुर्‍याउने हाम्रा पूर्वजहरूको योगदानको स्मरण गर्दै उहाँहरूको स्वाभिमान, वीरता र आदर्शबाट अनुप्रेरित भई राष्ट्रको सर्वाङ्गीण विकासमा अग्रसर हुन पनि सबैलाई आह्वान गर्नुभएको छ ।

निकै लामो सङ्क्रमणकालपश्चात् राजनीतिक स्थिरता र दिगो शान्ति कायम भएको उल्लेख गदैं राष्ट्रपति भण्डारीले नेपालको संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख आर्थिक प्रणाली र सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने अभियानमा आआफ्नो क्षेत्रबाट योगदान पुर्‍याउन सम्पूर्ण राजनीतिक दलहरूसहित समस्त नेपालीमा आव्हान गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले गणतन्त्र दिवसको सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक बधाई दिँदै सुख, शान्ति र समृद्धिको लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले हाम्रो देशमा लोकतान्त्रिक गणतन्त्र प्राप्तिको लागि भएका संघर्षमा आफ्नो अमूल्य जीवन आहुती गर्ने सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गदैं सबैसंग गणतन्त्रलाई थप सुदृढ तुल्याउन पनि हार्दिक आव्हान गर्नुभएको छ ।

राष्ट्पति भण्डारीले कोरोना भाइरसको संक्रमणबाट आफ्नो अमूल्य जीवन गुमाउने सबै नेपालीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गनुभएको छ । उहाँले आफ्नो सन्देशमा कोरोना भाइरसबाट संक्रमित बिरामीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले गणतन्त्र दिवसलाई ऐतिहासिक दिवस भन्दै यसले सबै नेपालीहरूलाई ‘‘समृद्ध नेपाल, सुखी नेपाली ” को साझा राष्ट्रिय संकल्प हासिल गर्न थप ऊर्जा प्रदान गरोस् भन्ने शुभेच्छा प्रकट गर्नुभएको छ ।

Share Now

Leave a comment.