Prakash Adhikari May 28, 2020

 

काठमाडौं,१५ जेठ । नेपालमा प्राणघातक कोरोना भाइरसको संक्रमणमा पर्नेहरुको संख्या एक हजार माथि पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबार अपरान्ह दिएको पछिल्लो जानकारी अनुसार हालसम्म कोरोना पुष्टि भएका व्यक्तिहरुको संख्या एक हजार ४२ पुगेको छ ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १ सय ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको छ ।

संक्रमितहरु मध्ये पाँच जनाको  मृत्यु भएको छ भने १सय ९० जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार पछिल्लो २४ घण्टामा धनुषाका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा ४ वर्षकी बालिका र ८ वर्षका बालक पनि छन् । अरु संक्रमित १४ देखि ७० वर्ष उमेर समूहका छन् ।

भारतसंग सीमाना जोडिएको रौतहटका २० जनामा संक्रमण पुष्टि भएको छ । टेकुमा गरिएको परीक्षणमा १२ देखि ३० वर्षका ३ जना र धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ८ वर्षीय बालिकदेखि ४० वर्षका पुरुषसम्म १७ जनामा संक्रमण देखिएको हो ।

यस्तै प्रदेश नं २ कै महोत्तरीका १७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनी १५ देखि ४५ वर्षका छन् । सर्लाहीका ७ र सिराहाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतीय सीमावर्ती जिल्ला सप्तरीमा १४ जनामा संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको गरिक्षणमा १८ देखि ४२ वर्षका १२ जना तथा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा ३२ र ४७ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कर्णाली प्रदेश अन्तरगतको दैलेख जिल्लाका १७ देखि ४० वर्षका ७ पुरुष र २० वर्षीया महिला गरी ८ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतकै १३, बझाङका एक र पहिचान खुल्न नसकेकी एक महिला गरी १५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

यता बाग्मती प्रदेशको दोलखाका १९ र २० वर्षका दुई पुरुष, सोलुखुम्बुका ५५ वर्षका पुरुष, मकवानपुरका ५० वर्ष पुरुष र नवलपुरका १९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशको राजधानी पोखरामा गरिएको परीक्षणमा स्याङ्जाका ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । २२ र २६ वर्षका पुरुष र ४९ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सुदूरपश्चिम प्रदेश अन्तरगतको धनगढीको सेती अस्पतालमा गरिएको परीक्षणमा दार्चुलाका २५ वर्षीय पुरुष तथा कैलालीका २५ र ३० वर्ष गरी ३ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
यस्तै प्रदेश ५ अन्तरगतको भेरी अस्पताल, नेपालगञ्जको प्रयोगालामा गरिएको परीक्षणमा बर्दियाका ३ र बाँकेका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

Share Now

Leave a comment.