काठमाडौं, १८ जेठ । कोरोना भाइरसको संक्रमणबाट नेपालमा मर्नेको संख्या ८ पुगेको छ भने संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ ।
आइतबार थप १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्यामा बढोत्तरी भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. विकास देवकोटाले दैलेखस्थित दुल्लु नगरपालिकाका एक ३५ वर्षीय पुरुषको शनिबार कोरोना संक्रमणका कारण मृत्यु भएपछि मृतकको संख्या ८ पुगेको बताउनुभएको छ।
आइतबार राती बिहानपख बाजुराकी २ वर्षीय बालिकाको कोरोनाकै कारण मृत्यु भएको थियो।
भारतबाट आफ्ना बुवा आमासहित आठ दिनअघि नेपाल आएकी ती दुई वर्षीय बालिकालाई ज्वरो, श्वासप्रश्वासमा समस्या र झाडापखाला लागेपछि बाजुरा जिल्ला अस्पतालको आइसोलेसन कक्षमा राखि उपचार गर्दागर्दै मृत्यु भएको थियो ।
पछिल्लो २४ घण्टाभित्र संक्रमित पुष्टि भएकामा पोखरामा तीन , स्याङ्जाका दुई, तनहुँका एक, पर्सा सुगौलीका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
त्यस्तै जुम्लामा गरिएको परीक्षणमा ३७ जना पोजिटिभ देखिएको छ। जसमा कालिकोटका १८ जना, दैलेखका १८ जना र बाजुराका १ जना रहेका छन्।
त्यस्तै सुर्खेतमा गरिएको परीक्षणमा सल्यानका २५ र सुर्खेत १, धुलिखेलमा गरिएको परीक्षणमा कपिलवस्तुका १ जनाको रिपोर्ट पोजिटिभ आएको छ।
भेरी अस्पतालमा गरीएको परीक्षणमा बाँकेका ८ जना, सेती अस्पतालमा कैलालीका ३ जना तथा बाजुराका २ जना, धरानमा गरिएको परीक्षणमा सप्तरीका १२ जना, कोशी अस्पतालमा झापाका ४, मोरङका १ जनाको रिपोर्ट पोजिटिभ आएको हो।
त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा धनुषा, कपिलवस्तु, रौतहट र सर्लाहीका ६४ जनाको रिपोर्ट पोजिटिभ आएको छ।


















