Prakash Adhikari June 3, 2020

मेक्सिको सिटी(मेक्सिको),२१ जेठ (बीबीसी) । मेक्सिकोकी नर्स लिजिया कान्टुन आफ्नो ४० वर्षे सेवामा स्वास्थ्यकर्मीप्रतिको अहिलेको जस्तो विषाक्त प्रतिक्रिया आफूले कहिल्यै नदेखेको बताउनुहुन्छ। धेरै देशमा कोरोनाभाइरस महामारीविरुद्धको सङ्घर्षमा अग्रपङ्क्तिमा काम रहेर काम गरिरहेका चिकित्सक र नर्सहरूको प्रशंसा भइरहँदा मेक्सिकोमा स्वास्थ्यकर्मीहरूमाथि नै आक्रमण भएको छ।

उनन्साठी वर्षीया लिजियाले सन् २००९ मा स्वाइन फ्लू महामारी र सन् २०१३ मा हैजाको महामारीमा आफूले काम गरेको बताउनुभयो।

तर यस पटक केही मानिसहरूले विक्षिप्त व्यवहार गरेको उहाँले बताउनुभयो।

लिजियाको शरीरमा तातो कफी खन्याइयो

एप्रिल ८ मा काम सकेर फर्कँदै गर्दा आफ्नै गृहनगरमा लिजियामाथि आक्रमण भयो। कसैले नजिकै गाडी ल्याएर उहाँको ढाडमा तातो कफी पोखिदियो। आफ्नो गाडी हुइँक्याउनुअघि त्यसमा चढेका व्यक्तिहरू झ्यालबाट ‘सङ्क्रमित !” भन्दै चिच्याए।

भाग्यवश गम्भीर चोट नलागे पनि उक्त घटना अझ दुःखद हुनसक्ने सम्भावना भएको उहाँ बताउनुहुन्छ ।

एप्रिल महिनाको अन्त्यसम्म मेक्सिकोमा स्वास्थकर्मीहरूलाई लक्षित दर्जनौँ आक्रमण भए। मुख्यतः ती आक्रमणको निसानामा नर्सहरू परेको सरकारले भनाइ छ।

सामाजिक सञ्जालमा प्रेषित सामग्रीमा नर्सहरूलाई बस चढ्न नदिइएकोदेखि चिकित्सकहरूलाई कोभिड-१९ भएका व्यक्तिका आफन्तले दुर्व्यवहार गरेको देखिन्छ।

अग्रमोर्चामा खट्ने व्यक्तिले बेहोरेको जोखिम

‘यसले मलाई दुःखी बनाउँछ’, लिजिया भन्नुहुन्छ, ‘मानिसहरूले जसरी आक्रमण गरिरहेका छन् त्यसले मलाई अझ चोट दिएको छ। मानसिक आघात पुर्‍याएको छ।’

स्वास्थ्यकर्मीहरूलाई ‘निःसङ्क्रमण गर्ने’ प्रयासका कारण पनि कतिपय आक्रमणहरू प्रेरित भएको हुनसक्ने ठानिन्छ।

ब्लीचले उनको आँखामा चोट पुर्‍यायो
ब्लीचले उहाँको आँखामा चोट पुर्‍यायो
आफ्नो कुकुर डुलाइरहेका बेला चिकित्सक एलोन्ड्रा टोरेसमाथि एप्रिलको दोस्रो साता सरसफाइ गर्न प्रयोग हुने ब्लीच छ्यापियो। उहाँ आफ्नो क्लिनिकमा कोभिड-१९ का बिरामी हेर्नुहुन्न। तर चिकित्सकले लाउने पोसाकका कारण आफूमाथि आक्रमण भएकोमा उहाँ विश्वस्त हुनुहुन्छ।

उक्त आक्रमणका कारण उहाँको घाँटी र छालामा एलर्जी देखियो। उहाँले भन्नुभयो, ‘केही मानिसहरूलाई मलाई सफा गर्ने रसायन खन्याउनुपर्छ भन्ने लाग्यो। मेरो आँखा भतभत पोलिरहेको थियो र मैले देख्न सकिरहेकी थिइनँ।’

चिकित्सक र नर्स मात्रै होइन, अस्पतालमा काम गर्ने अरूलाई पनि आक्रमण भएका विवरणहरू आएका छन्। एक सफाइ कर्मचारीलाई उनको अस्पतालनजिकै बस बिसौनीमा ओर्लिन खोज्दा यात्रुहरूले आक्रमण गरेका थिए।

‘बस चढेपछि मैले तीनजना मानिसहरू आक्रामक भएको मैले देखेँ। उनीहरूले मलाई बारम्बार ‘फोहोरी’ भनिराखे तथा मलाई पिट्दा पनि त्यो शब्द उच्चारण गरिराखे। मलाई लाग्यो अब यो कहिल्यै पनि सकिँदैन।’

उहाँको टाउको र अनुहारमा चोट लाग्यो।

प्रहरीका अनुसार ती कर्मचारीले अस्पतालमा काम गर्ने पोसाक लगाएकाले उनीमाथि आक्रमण भएको हुनसक्ने अनुमान गरेको छ।

गाउँनिकाला
पच्चीस वर्षीया नर्स मेलोडी रोड्रिगेजले आक्रमणको खतराका कारण घरबाट विस्थापित हुनुपर्यो।

मेलोडीले आफ्नो गाउँ छोड्नुपर्‍यो
मेलोडीले आफ्नो गाउँ छोड्नुपर्‍यो
एप्रिल ८ मा नायारिट राज्यमा रहेको आफ्नो गाउँ लो डे मार्कोस फर्किदैँ गर्दा गाउँलेहरूको एउटा समूहले उनको बाटो छेकेको थियो।

उहाँ भन्नुहुन्छ, ‘उनीहरूले यदि म गाउँमा प्रवेश गरे फेरि बाहिर निक्लिन नदिइने बताए। आफू सङ्क्रमणको स्रोतबाट फर्किएकी हुनाले मलाई गाउँ नछिरेकै राम्रो भन्ने लाग्यो।’

उहाँका एक सहकर्मीले उक्त घटनाको भिडिओ सामाजिक सञ्जालमा राखिदिएपछि स्थानीय अधिकारीहरूले मेलोडीका पक्षमा हस्तक्षेप गर्ने प्रयास गरेका थिए । तर उहाँले सहरमा कोठा लिएर बस्ने निर्णय लिनुभयो।

‘जसरी मैले आफ्नो ठाउँ छाड्नुपर्‍यो त्यसबाट मलाई एकदमै नराम्रो लाग्यो। किनभने उनीहरूले म हैजाबाट सङ्क्रमित भए जस्तो गरी व्यवहार गरे।’

मेलोडीले आफ्नो गाउँ छोड्नुपर्‍यो
मेलोडीलाई गाउँ छिर्न अवरोध गरिएको भिडिओ सामाजिक सञ्जालमा राखिएको थियो
राष्ट्रपति एन्द्रेज म्यानुएल लोपेज ओब्रादरले केही हप्ताअघि स्वास्थ्यक्षेत्रमा कार्यरत सबै व्यक्ति देशका नायकनायिका भएको बताउनुभएको थियो।

‘अहिले देखिएको विभेद निन्दनीय छ। हामी स्वास्थ्यक्षेत्रमा कार्यरत सबै जनालाई हाम्रो समर्थन व्यक्त गर्छौ’, उहाँले भन्नुभएको थियो।

मेक्सिको सरकारले अस्पतालमा न्याश्नल गार्ड परिचालित गर्ने निर्णय गरेको छ। केही राज्यहरूले स्वास्थ्यकर्मीलाई लामो यात्रा गर्नु नपरोस् भनेर निजी यातायात र होटलका कोठा पनि उपलब्ध गराउने बताएका छन्।

‘प्रश‍ंसा हैन, काम गर्न देऊ’
विश्व स्वास्थ्य सङ्गठनले झन्डै ३८ प्रतिशतसम्म स्वास्थ्यकर्मीले आफ्नो सेवावधिमा भौतिक आक्रमण भोग्ने गरेको जनाएको छ। तर कोरोनाभाइरसको महामारीले मेक्सिकोमा यो जोखिमलाई अझ बढाएको ठानिन्छ।

अहिले अस्पतालको सुरक्षाका लागि सेना परिचालन गरिएको छ
अहिले अस्पतालको सुरक्षाका लागि सेना परिचालन गरिएको छ

विज्ञहरूले यस्ता आक्रमणलाई स्वास्थ्यकर्मीहरूले उपचार नभई रोगलाई साङ्केतिक रूपमा प्रतिनिधित्व गरिरहेको गलत मनोविज्ञानको उपज मानेका छन्।

आक्रमणमा परेका स्वास्थ्यकर्मीहरूले पनि अज्ञानता र डरका कारण मानिसहरूले त्यसो गरेको हुनसक्ने बताएका छन्।

लिजिया आफ्नो कामलाई निरन्तरता दिने पक्षमा हुनुहुन्छ।

‘मेरो देश र मानिसलाई म आवश्यक छु। मसँग भएको सबै कुरा म दिनेछु।’

अर्की नर्स मेलोडी भन्नुहुन्छ, ‘तपाईँहरूले हाम्रो प्रशंसा गर्नुपर्दैन। हामीलाई काम गर्न दिनुहोस्। हामी तपाईको सेवाका लागि छौँ।’

Share Now

Leave a comment.