काठमाडौं, २२ जेठ (बीबीसीबाट) । नेपालमा थप ३ सय ३४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।
यससँगै अहिलेसम्म देशभरि सङ्क्रमतिको कुल सङ्ख्या २ हजार ६ सय ३४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। तीमध्ये २ सय ९० जना निको भइसकेका छन्।
यो अहिलेसम्म दैनिक वृद्धि भएको सर्वाधिक सङ्ख्या हो।
कोभिड १९ का कारण थप एक व्यक्तिको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभएको छ। यो सहित यससँगै नेपालमा अहिलेसम्म १० जनाको मृत्यु भएको पुष्टि भएको छ।
पछिल्लो पटक भारतबाट फर्किएका पाल्पाका पुरुषको मृत्यु कोरोना भाइरसको संक्रमणबाट भएको पुष्टि भएको छ ।भारतबाट फर्किएर क्वारेन्टाइमा बस्दा स्वास्थ्य बिग्रिएपछि उनलाई पाल्पास्थित मिशन अस्पतालमा भर्ना गरिएको थियो। उनको जेठ २० गते मृत्यु भएको र नमुना परीक्षण गर्दा कोरोनाभाइरस सङक्रमण देखिएको डा. देवकोटाले बताउनुभएको छ।
सङ्क्रमितको सङ्ख्या २५ हजार नाघ्ने
सङ्क्रमण वृद्धि हुने गति यसरी नै चलिरह्यो भने नेपालमा २५ हजारभन्दा बढी मानिसलाई कोभिड १९ हुन सक्ने आँकलन गरिएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले बताउनुभएको छ ।
नेपालमा एक साताअघि सरकारी स्वास्थ्य अधिकारीहरूले कोरोनाभाइरसबाट ५ हजार मानिस सङ्क्रमित हुन सक्ने आकलन गरेका थिए।
सङ्क्रमण पुष्टि हुने क्रम बढेपछि उनीहरूले पुनः समीक्षा गरेर उक्त सङ्ख्या पाँचगुना बढी हुन सक्ने बताएका हुन्।
‘५ हजार सङ्क्रमित हुने अनुमानमा स्वास्थ्य सामग्री खरिद गर्न खोजिएकोमा अब त्यो परिवर्तन भइसकेको छ’, श्रेष्ठले भन्नुभयो, ‘एक महिनाभित्रै ५ हजार नाघ्ने देखेर मन्त्रालयमा नयाँ रणनीति बनिरहेको छ।’
सरकारले कोभिड-१९ सँग सङ्घर्ष गर्न यसअघि ल्याएको एउटा विपद् व्यवस्थापन योजनामा सङ्क्रमितको सङ्ख्या २ हजार नाघ्दा सङ्क्रमणको अवस्था ‘दोस्रो तह’मा पुग्ने र ‘जनस्वास्थ्य सङ्कटकाल’ घोषणा गर्न सकिने उल्लेख छ।
त्यस्तो अवस्थामा पाँच प्रतिशत सङ्क्रमितलाई अस्पतालमा सघन स्वास्थ्य सेवा चाहिने र १५ प्रतिशत जतिलाई बाहिरबाट अक्सिजन दिएर कृत्रिम रूपमा श्वासप्रश्वास गराउनुपर्ने हुनसक्ने उक्त योजनामा उल्लेख छ।
कस्तो वृद्धि?
नेपालमा पहिलो सङ्क्रमित फेला परेको दुई महिनापछि दोस्रो व्यक्तिमा कोभिड १९ पुष्टि भएको थियो।
तर जेठ १५ देखि जेठ २० सम्ममा १ हजार सङ्क्रमित फेला परेपछि पाँच दिनमा कुल सङ्ख्या दोब्बर भयो।

अहिले देशभरि डेढ लाख जनाभन्दा बढी व्यक्ति क्वारेन्टाइनमा छन्
सरकारले अहिले सम्भावित वृद्धिको गणितीय आँकलन गरिरहेको जनाउँदै विभागका महानिर्देशक श्रेष्ठले त्यसपछि अधिकतम सङ्ख्या स्पष्ट रूपमा प्रक्षेपण गर्न सकिने बताउनुभएको छ।
सरुवा रोग तथा जनस्वास्थ्यविज्ञहरू सक्रिय अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्याका आधारमा सङ्क्रमितको अधिकतम सङ्ख्या प्रक्षेपण गर्न सकिने बताउँछन्।
विभिन्न देशमा गरिएका अध्ययनहरूले एउटा ङ्क्रमित व्यक्तिले अन्य पाँच जनासम्मलाई कोरोनाभाइरस सार्न सक्ने सङ्केत गरेका छन्।
विगत केही सातादेखि पुष्टि भएका अधिकांश सङ्क्रमितहरू क्वारेन्टाइनमा भएका व्यक्ति भएको सरकारको भनाइ छ।
‘अहिलेसम्म क्वारेन्टाइनमा रहेका मानिसहरूलाई नमुना जाँचमा प्राथमिकता दिएकाले बाहिरको चित्र हामीलाई थाहा छैन। पाँच हजारजति सङ्क्रमण त अहिलेकै सक्रिय घटनाले सारेको हुनसक्छ’, त्रिभुवन विश्वविद्यालय अन्तर्गतको केन्द्रीय सूक्ष्मजीव विज्ञान विभागका प्रमुख डा. मेघराज बन्जाराले बताउनुभयो, ‘क्वारेन्टाइनको गुणस्तर कमजोर भएको अवस्थामा त्यहीँभित्र नै भाइरस नराम्ररी फैलिएको पनि हुनसक्छ। तर त्यहाँ समयमै कदम चालेको अवस्थामा मात्र समुदायमा धेरै सङ्क्रमण फैलिने अवस्था रोक्न सकिने हो।’
अहिले नेपालमा डेढ लाखभन्दा बढी मानिस क्वारेन्टाइनमा छन्। तर धेरै स्थानका क्वारेन्टाइनमा पर्याप्त सरसफाइ हुन नसकेको र रोग फैलिन सक्नेगरी धेरैलाई एकै ठाउँमा राखिएको गुनासाहरू आएका छन्।
क्वारेन्टाइनमा भएका धेरै मानिसको जाँच हुन बाँकी रहेकाले गणितीय आँकलनभन्दा वास्तविक स्थिति झन् खराब हुनसक्ने विज्ञहरूको आशङ्का छ।
बुधवार साँझसम्मको तथ्याङ्कअनुसार नेपालमा भाइरस सक्रिय रहेका सङ्क्रमितको सङ्ख्या २ हजार भन्दा बढी छ।
मन्त्रालयका अनुसार विगत २४ घण्टामा ३ हजार ८ सय ६७ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो।
नेपालमा कोरोनाभाइरस सङ्क्रमण
जेठ २२, बिहीवार अपराह्ण ४ : ३० बजेसम्मको तथ्याङ्क
- २,६३४ कुल सङ्क्रमण
- ६५ प्रभावित जिल्ला
- पीसीआर विधिबाट परीक्षण ८४,१३४
- चिकित्सकीय निगरानीमा अलग्गै२,६३४
- देशभरि क्वारेन्टाइनमा१,६१,२६२
- अहिलेसम्म रोगमुक्त २९०
स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
बुधवार २४ घण्टाभित्र २ सय १ जनामा सङ्क्रमण पुष्टि भएपछि उक्त सङ्ख्या २,३०० पुगेको थियो।
नेपालमा नयाँ कोरोनाभाइरस सङ्क्रमण
१० दिनमा यसरी बढ्यो सङ्क्रमण पुष्टि हुने क्रम
स्रोत : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
अहिले देशमा सबै प्रदेशका कुल ६५ जिल्लामा कोभिड-१९ पुगिसकेको छ।
तीमध्ये प्रदेश नं २ र ५ सर्वाधिक प्रभावित भएको देखिएको छ।
क्वारेन्टाइनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको सङ्ख्या बढेको मन्त्रालयको भनाइ छ। केही सातादेखि सङ्क्रमण पुष्टि भएका अधिकांश व्यक्ति क्वारेन्टाइनमा थिए।




















